समाज

चितवनका हात्तीलाई वनभोज खुवाइयो

इकागज |
पुस १३, २०८० शुक्रबार १७:५५ बजे

काठमाडौँ- चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ को चौथो दिन शुक्रबार भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ ।

सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा पौष १० गतेदेखि आयोजना गरिएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’मा हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको युनाइटेड हात्ती सञ्चालक सहकारीका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए ।


महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका छन् । महोत्सव सुरु भएपछि गन्तव्य अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि भएको छ । अंग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।


Author

थप समाचार
x