समाज

बालकुमारी घटनाका दोषीलाई फौजदारी अभियोजन दर्ता गर्न नागरिक समाजको माग

इकागज |
पुस १४, २०८० शनिबार १०:४९ बजे

फाइल तस्बिर

काठमाडौँ - सचेत नागरिक समाजले ललितपुरको बालकुमारीमा बिहीबार भएको घटनाबारे आपत्ति जनाउँदै सरकारको विरोध गरेको छ । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकको हत्या गर्न नमिल्ने बताएका हुन् । उनीहरूले दुवै पक्षबाट गोली चलेको भए राज्य संयन्त्रलाई गोली चलाउन छुट रहेपनि निहत्था नागरिकमाथि सरकारले कुन आधारमा गोली चलाएको हो भन्ने कुराको छानबिन हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको राज्यले निहत्था नागरिकमाथि गोली प्रहार गरी हत्या गर्नु लोकतन्त्रको सबैभन्दा खराब पक्ष रहेको जिकिर गरे । उनले राज्य नै अपराधी भएको जिकिर गरे । उनले निहत्था नागरिकको हत्या गर्नेहरूलाई कारबाही हुनैपर्ने बताए । बालकुमारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र फौजदारी अभियोजन दर्ता गर्नुपर्ने बताए । 


उनले भने, ‘राज्य नै क्रेमिनल जस्तो भइसकेको छ । राज्यका पदाधिकारी, सञ्चालकहरु क्रेमिनल जस्ता छन् । कानुन कार्यान्वयन गर्ने व्यक्तिहरू नै सबैभन्दा ठूला अपराधीक व्यक्ति भएका छन् । राज्यमा निरन्तर अपराधीकरण भएको छ । राज्यले आफ्ना नागरिकको रक्षा गर्ने दायित्व बोकेको नागरिकको हत्या गर्छ । लोकतन्त्रमा यो भन्दा खराब कुरा हुनै सक्दैन । यो भन्दा गम्भीर आपत्तिजनक कुरा अर्को हुन सक्दैन । यो जस्तो गम्भीर अपराध अदण्डित रहनु हुँदैन । निहत्था नागरिकमाथि कुटेर मार्ने, निहत्था नागरिकमाथि गोली प्रहार गर्न पाइँदैन, दुवैतिरबाट गोली हानाहान भएको थियो ? प्रदर्शनकारीको हातमा पनि बन्दुक थियो ? बन्दुक थिएन भने निहत्था नागरिकमाथि गोली प्रहार गर्न पाइँदैन । हिजोको जुन घटना छ, यसको छानबिन हुनुपर्छ । यसमा फौजदारी अभियोजन हुनुपर्छ । तत्काल सरकारले यो दंगा नियन्त्रण गर्ने पुलिसलाई मान्छे मार्ने गोली प्रहारलाई रोक्नुपर्छ ।’

उनले जनता मार्ने अधिकार सरकारलाई नरहेको बताए । बिहीबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । परीक्षा दिन पाउनुपर्ने माग राखि आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठी चार्ज हुँदा दुई युवकहरूको ज्यान गएपछि यति बेला सरकारको चर्को आलोचना भइरहेको छ ।


Author

थप समाचार
x