अवैध उत्खननको आरोपमा वडाध्यक्ष र क्रसर सञ्चालक पक्राउ
सिरहा- चुरे तथा वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा र ग्राभेल उत्खननको सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर सञ्चालकलाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्राउ गरी हिरासतमा राखेको छ ।
वन क्षेत्रमा पोखरी गैरकानुनी ढङ्गले उत्खनन सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फनिन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पक्राउ गरेको हो ।
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्सकाभेटर प्रयोग गरी अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुनविपरीत सिफारिस गरी सहयोग गरेको आरोपमा वडाध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको हो ।
कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूकै मिलोमतो कानुनविपरीत अवैध उत्खनन गरी बिक्रीवितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले जनाए ।
गत ७ गते पुसमा सोही क्षेत्रबाट अवैध उत्खनन गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पक्राउ गरिएको थियो ।
पक्राउ गरिएका व्यक्तिहरू उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधिहरूले आर्थिक प्रलोभनमा परी सिरहको उत्तरी क्षेत्रका वडाहरूमा ग्राभेल उत्खनन गर्न पोखरीको सिफारिस दिन गरेको छ ।
उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाए पनि यहाँबाट ग्राभेल तस्करहरूलाई सहज पार्न वडा कार्यालयहरूले आर्थिक प्रलोभन कै कारण गैर कानुनी रूपमा पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयहरू बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया