सामाजिक उद्यमशीलताको महत्वबारे प्यानल छलफल गर्दै हल्ट प्राइज
काठमाडौँ- अभिनवता र त्यसबाट सिर्जित सामाजिक प्रभावको मार्ग दर्शन गराउने 'द हल्ट प्राइज'को प्यानल छलफल भयो । सो कार्यक्रम गतशुक्रबार हल्ट प्राइज अ्याट आइ. ओ. ई, पुल्चोक क्याम्पस र काठमाडौँ भ्याली लियो क्लब, पुल्चोकले साझारुपमा सञ्चालन गरेका थिए ।
क्याम्पस परिसरमा आयोजित कार्यक्रमको प्रारम्भ क्याम्पस निर्देशक आदित्य पाण्डेले गरे । उनले यस वर्षको 'हल्ट प्राइज'को थिम ‘अनलिमिटेड’ माथि प्रकाश पार्दै कार्यक्रमलाई अगाडि बढाए । देशका कीर्तिमान सामाजिक कार्यकर्ता र उद्यमीहरूलाई उत्साहजनक छलफलका लागि अतिथिका रुपमा स्वागत गरियो ।
कार्यक्रममा अस्तित्व नेपाललाई प्रतिनिधित्व गर्दै व्रिन्दा भट्टचार्य, फेमिनिस्ट फ्युचर नेपालबाट अनुकृती कुँवर, एफएनसिसिआईबाट राज्यलक्ष्मी शाक्य र एनवाइईएफबाट सुदिप घिमिरेलाई अतिथिको रुपमा आसन ग्रहण गराइयो । उनीहरूको संक्षिप्त परिचयपछि छलफल सुरु भयो ।
भट्टचार्यले अस्तित्व नेपालको स्थापना र यस संस्थाको छोटो परिचय दिइन् । उनले एसिड आक्रमण र एसिड आक्रमण हिंसाबारे फरक छुट्याउँदै संस्थाले एसिड आक्रमणमा परेका व्यक्तिहरूलाई गर्दै आएको सहयोगबारे बताइन् । अस्तित्व नेपालद्वारा सञ्चालित ‘समावेश’ नामक कार्यक्रमले कसरी समाजमा सबै वर्गका मानिसहरूलाई सेवा दिँदै आएको छ भनि उनले व्याख्या गरिन् ।
समाजमा आगो, बिजुली, एसिड आदि कुनै पनि कारणले भएको शारीरिक जलनलाई के-कसरी उपचार गर्ने भनि आजको समयमा पनि जनचेतनाको अभाव छ । दुर्भाग्यवस कतिपय मानिसले यस कारण आफ्नो ज्यान गुमाउनु परेको छ । यस्तो अवस्थालाई मध्यनजर राख्दै अस्तित्व नेपालले जनचेतना फैलाउँदै आएको छ । सामान्य स्वास्थ्य प्रशिक्षण, लैङ्गिक समानता, दुर्व्यवहारमा परेका बालकहरूका लागि पुनर्स्थापना, समलैङ्गिकताबारे संवेदनशीलताको विकास आदि विषयहरू अस्तित्व नेपालले समेटेको छ ।
आजको एकाइसौँ शताब्दीमा पनि समानता, मानसिक स्वास्थ्य, समावेशिकरण जस्ता अवधारणा किताबका पानामा मात्र सिमित रहेको दुःखद यथार्थ दर्शकहरू सामु राख्दै भट्टचार्यले परिवर्तन आफैँबाट र आजैबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिइन् ।
फेमिनिस्ट फ्युचर नेपाल समाजमा जरा गाडेर बसेको लैङ्गिक विभेद र यसका वरपर मौलाएका विसङ्गतिहरूलाई सम्बोधन गर्ने डिजिटल संस्था हो । अनुकृतीले फेमिनिसम अर्थात् नारीवादबारे समाजमा भएको गलत मानसिकता दर्शकवर्गलाई नराख्न अनुरोध गर्दै यसको वास्तविक अर्थ चर्चा गरिन् । फेमिनिसमको थुप्रै प्रकार हुने र नेपालको परिवेशमा दलित फेमिनिसमले विशेष चासो पाएको कुरा उनले गरिन् ।
फफएनको कार्यक्रमहरू संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यलाई पुरा गर्न कसरी सञ्चालन भइरहेका छन् भन्ने विषयमा पनि चर्चा भयो । उनले समाज लैङ्गिक र प्रजनन स्वास्थ्य शिक्षाको मामिलामा कमजोर रहेको बताइन् । यस्ता संवेदनशील विषय माध्यामिक शिक्षादेखि पाठ्यक्रममा राखिएपनि सामाजिक परित्याग बन्न पुगेको तितो सत्य अगाडि ल्याइएको बताइन् । यी परित्याग तोड्न फफएनको प्रयासहरू उल्लेखनिय रहेका छन् । यसमा मात्र सिमित नभई फफएनले सहमति, शारीरिक अधिकार, एलजिबिटि अधिकारबारे पनि समाजमा चेतना फैलाउँदै आएको छ ।
एफएनसिसिआई व्यापार र उद्योगका लागि आफैँमा एक चर्चित संस्था हो । आजको समयमा देशमा व्यापार व्यवसायको ठूलो भूमिका रहेको छ । तर नविन विचार बोकेका युवा विदेश पलायन हुँदैछन् । रोजगारीको अवसर सिर्जना गर्न सके देशका युवाहरूको यस्तो भयावह स्थिति हुने थिएन भन्ने विश्वास राज्य लक्ष्मी शाक्यले व्यक्त गरिन् ।
यसै प्रयासका लागि एफएनसिसिआईले नेपाल सरकारसँग मिलेर देशमै रोजगारी दिने कार्यक्रम सञ्चालन गरेको छ । पर्यटन र कृषि मात्र नभई स्थानीय व्यापार र साना उद्योगलाई प्रोत्साहन दिँदै आएको छ । कोभिड-१९ पछिको व्यापारिक क्षेत्रमा आइपरेका समस्याहरू सम्बोधन गर्दै युवा जनशक्तिलाई देशमै राख्न एफएनसिसिआईको प्रयास जारी छ । राज्य लक्ष्मीले दर्शक वर्गलाई युवा भनेका देशका सम्पत्ति हुन् र देश बनाउने कर्तव्य पनि युवाकै हो भनेर देशमै केहि गर्न प्रेरणा दिइन् । रेमिट्यान्सले देश चल्दैन, नयाँ प्रविधि, नव विचार, जोस र जाँगरले चल्छ भन्ने कुरा राख्दै उनले युवा जनशक्तिलाई आफ्नै देशमा आफ्नो पसिना बगाउन प्रोत्साहन गरिन् ।
एनवाइईएफलाई प्रतिनिधित्व गर्दै सुदिप घिमिरेले त्यस संस्था पनि हल्ट प्राइज जस्तै संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यसँग समाहित भई समाजलाई उद्यमशील बनाउँदै आएको बताए । द्वन्द्वकाल पछि व्यवसायका लागि नेपालमा वातावरण सिर्जना गर्न निकै अप्ठ्यारो परेको थियो । त्यस समयदेखि आजसम्म एनवाइईएफले व्यवसाय सुरुवातका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस संस्थाको विश्वव्यापी पहुँच भएको हुँदा हल्ट प्राइजसँग समानता रहेको सुदिपले बताए ।
प्यानल छलफलमा यिनै विषयहरूमाथि चर्चा गरियो । उत्साहित र दर्शकहरूको उपस्थितिले कार्यक्रम थप रोचक बनेको थियो । दर्शकहरूको जिज्ञासाहरू पनि अतिथिद्वारा सम्बोधन गरियो । कार्यक्रमलाई भव्यरुपमा सञ्चालन गराउन हल्ट प्राइजका प्रायोजकहरू प्रोटोजोआ होस्ट, टास्केड र राष्ट्रिय वाणिज्य बैंकको पनि गहन भूमिका रहेको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया