समाज

झोलुङ्गे पुलको भरमा देवघाट

इकागज |
पुस १६, २०८० सोमबार २१:२३ बजे

फाइल तस्बिर

डुम्रे (तनहुँ)- त्रिशूली र कालीगण्डकीको सङ्गम स्थल देवघाटधाम पवित्र तीर्थस्थलका रूपमा  प्रसिद्ध छ । देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रूपमा महत्वपूर्ण मानिन्छ । यही महत्वपूर्ण धामबाट नै नामकरण गरिएको छ पालिकाको नाम देवघाट । ठूला नदीको बीच भागमा रहेका पालिका विकास निर्माणमा पछाडि परेको छ । 

यस देवघाट क्षेत्र झोलुङ्गे पुलको सङ्गम भन्न सकिने अवस्थामा छ । सङ्घीयता कार्यान्वयन  भए पनि यहाँको विकासमा भने खासै परिवर्तन हुन सकेको छैन । लामो समयदेखि देवघाट क्षेत्र झोलुङ्गे पुलको भरमा नै रहेको छ । तीन ठूला नदीले घेरिएको देवघाट गाउँपालिकाको क्षेत्र झोलुङ्गे पुलले जोडेको छ । देवघाटबाट सदरमुकाम दमौली कामकै लागि आउनुपर्ने भएमा बागमती प्रदेश पार गर्नुपर्छ । मोटरेबल पुल नहुँदा यहाँका स्थानीय बागमती प्रदेश पार गरी सदरमुकाम आउनुपर्ने अवस्था छ । केही सहज हुने स्थानका पालिकावासी झोलुङ्गे पुलबाट मादीसेती नदी पार गरी सदरमुकाम पुग्ने गर्दछन् । पुलको अभावले सामग्री ढुवानीमा समेत सकस हुने गरेको स्थानीय बताउँछन् । 


देवघाटसँग जोडिनका लागि हालसम्म १७ झोलुङ्गे पुलले घेरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । उनले भने, 'गाउँपालिका झोलुङ्गे पुलकै भरमा चलेको छ । यसलाई मोटरेबल पुल बनाउनका लागि समन्वय गरिरहेका छौँ । तर, अझैसम्म हुन सकेको छैन ।'

ग्रामीण क्षेत्रलाई सहज बनाउने उद्देश्यले पालिकाले समन्वय गरिरहेका अध्यक्ष थापाले बताए । झोलुङ्गे पुलरहित बनाउन भने नसकिएको उनको भनाइ छ । केही स्थानमा मोटरेबल पुल निर्माण हुने भइसकेको अवस्थामा तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन रहेको तनहुँ जलविद्युत् आयोजनाले गर्दा ढिला भएको अध्यक्ष थापाले जानकारी दिए । उनले भने, 'देवघाट-३ र बन्दीपुर-६ स्थित मादीसेती नदीमाथि नाल्दीघाटमा मोटरेबल पुल निर्माण भइसक्थ्यो । तर, तल्लो सेती जलविद्युत् आयोजना बन्ने भएपछि समय फेरिँदा झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने अवस्था छ ।' 

देवघाट-२ र ३ वडासँग जोडिने आँबुखैरेनी, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा जोडिएको बुद्धसिं मार्गसँग जोड्ने मोटरेबल पुल निर्माण गर्न सकिएमा यस क्षेत्र झोलुङ्गे पुलरहित बन्ने उनले बताए । गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले भने, 'हालसम्म हाम्रै जिल्लातर्फ मोटरेबल पुल बन्न सकेको छैन । तर, पहल भने गरिरहेका छौँ । चितवनतर्फबाट आवतजावत हुने गरी भने तीन स्थानमा मोटरेबल पुल रहेका छन् ।' तनहुँतर्फ देवघाट-३ र बन्दीपुर गाउँपालिका-६ स्थित वाटरखोलामा मोटरेबल पुल निर्माणका लागि सरकारबाट स्वीकृत भएर आएको उनले बताए । 

तनहुँको देवघाट-५ र चितवनको भरतपुर-२९ दासढुङ्गामा मोटरेबल पुल, देवघाट र नवलपुर जोडिने मोटरेबल पुल र चितवनतर्फकै ठिमुरामा मोटरेबल पुल निर्माण भएको छ । तर, ठिमुराको मोटरेबल पुलले भने अझैसम्म पनि पूर्ण रूपमा निर्माण भएको छैन । यहाँका ग्रामीण क्षेत्रलाई सहज रूपमा पालिकासम्म पुग्ने र फर्किने अवस्था बनाउन मोटरेबल पुल निर्माण गर्नुपर्ने स्थानीय नवराज गुरुङले बताए । सुन्तला व्यवसायीसमेत रहेका उनले भने, 'पालिकामै पुगेर काम गर्नुपर्ने भएमा थोरैमा तीन दिन खर्चनुपर्ने अवस्था रहेको छ । यसको अन्त्यका लागि मोटरेबल पुल नै मुख्य रहेको छ ।' सरकारले गाउँ गाउँमा सिंहदरबारको आभास हुने गरी पुल निर्माण भइदिए यहाँका स्थानीयले राहत पाउने उनको भनाइ छ ।

उनले भने, 'यहाँ उत्पादित वस्तु बजार लैजान पनि समस्या छ । आवश्यक खाद्यान्न बजारबाट ल्याउन पनि झोलुङ्गे पुल तारेर ल्याउनुपर्ने अवस्था रहेको छ । यसको अन्त्य होस् यही नै हाम्रो माग हो ।' यहाँको आयस्तर वृद्धिका लागि पनि ग्रामीण क्षेत्रसँग जोड्ने गरी मोटरेबल पुल निर्माण हुनुपर्ने गरी समन्वय गरिरहेका देवघाट-२ का वडाध्यक्ष मीनबहादुर राना मगरले बताए । 

यस पालिकाको ग्रामीण क्षेत्रमा पुग्नका लागि झोलुङ्गे पुलबाहेक सवारीसाधन आवतजावत गर्न समस्या रहेको छ । पाँच स्थानमा मोटरेबल पुल निर्माण गर्न सकिएमा देवघाटबाट सहज रूपमा सदरमुकाम आवतजावत गर्न सकिनेछ । आठवटा ठूला नदीको मिश्रण हुँदै आएका र हिमालबाट आएको कालीगण्डकी नदीमा विश्वमा प्रसिद्ध मानिने शालिग्राम भेटिने भएकाले यस क्षेत्रमा माघे सङ्क्रान्तिमा देवताहरूको ठूलो बैठक बस्ने स्थानलाई देवघाटधाम भनिएको किंवदन्ती छ । रासस


Author

थप समाचार
x