समाज

यसरी पल्टिन्छ खुदो !

इकागज |
पुस १७, २०८० मंगलबार १०:३३ बजे

काठमाडौँ- कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका- ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन रहेको छ । अझै पनि खुदो पकाउने चलन हराएको छैन ।

पोखरा- ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन् । मालेपाटन र ढोडबेसीँका करिव ८० परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् ।


त्यही उखु पेलेर वर्षेनी खुदो पकाएर बेच्छन् । पुस पन्ध्र र माघे संक्रान्तिमा खुदो खाने चलन पनि छ । अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । बीउ रोपेको एक वर्षमा उखुको लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ ।

पाँच घण्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।

मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउँछन् । दुई ठाउँमा गरेर करिव २ सय रोपनीमा उखुखेती हुँदै आएको छ सिंचाईको सुविधा नभएकाले यस क्षेत्रका वासिन्दाले उखु खेती गर्न थालेको र उखु खेतीकै कारण गाउँको नाम नै ढोडबेसीँ रहन गएको धेरैको बुझाई छ ।

पहिला पहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तिकै समस्या थियो तर अहिले गाउँबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ । उनले पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भएपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताए ।

यो वर्ष गाउँबाटै प्रतिलिटर ४ सयका दरले खुदो बिक्री भइरहेको छ । यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्दछन् । तर गाउँका युवाको विदेश मोह र झन्झटिलो काम अनि आम्दानीका अन्य स्रोतका कारण उखु खेतीबाट हात झिक्नेहरू बढ्‌दै गएको स्थानीय बताउँछन् ।

स्थानीय महादेवप्रसाद धमलाले पहिला धेरै राम्रो भएको र अहिले मानिसहरू धेरै बाहिर जाने क्रमले काम गर्ने युवा जनशक्ति नहुँदा उखु उत्पादन कम हुँदै गएको बताए । उनले सरकारले कुनै राहत नदिएको गुनासो गरे ।

उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न किसानहरूलाई चिन्ता भने छैन । घर गाउँमा एकाध गाँज उखु भएपनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरू गाउँमा खेती भएको छैन । मालेपाटन र ढोडबेसीँ मात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा तीन पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् ।


Author

थप समाचार
x