कमला नदीमा भइरहेको अवैध उत्खनन् रोक्न माग गर्दै मशाल जुलुस
फाइल फोटो
सिरहा - अवैध उत्खननको विरोधमा आज कर्जन्हा नगरपालिकाका सर्वसाधारणले मशाल जुलुस प्रदर्शन गरेका छन्।
कमलामा भइरहेको अवैध उत्खनन र नियम मिचेर नगरपालिकाले लगाएको ठेक्का रद्दको माग गर्दै उनीहरूले कर्जन्हा नपा २ बन्दिपुरमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।
भ्रष्ट स्थानीय सरकार र अवैध उत्खननका मतियारको रुपमा रहेको वडा अध्यक्ष छुटाएको विरुद्धमा स्थानीयले विरोध स्वरूप जुलुस प्रदर्शन गरेको स्थानीय युवा जितेन्द्र यादवले बताए।
उनले भने, ‘कमला ठेक्का स्थानीय सरकार, सरोकारवाला निकाय र कमला बचाउ अभियानको समन्वयमा लगाउने सहमति विपरीत अवैध रुपले ठेक्का लगाएको र कानुनको खिल्ली उडाउँदै राजमार्ग अवरुद्ध गरेर वडा अध्यक्ष छुटाएको विरुद्धमा पनि यो प्रदर्शन हो।’
मशाल जुलुसका सहभागीहरूले 'कमला नदी दोहन बन्द गर', 'अवैध उत्खनन बन्द गर', 'कमला नदीको ठेक्का रद्द गर' भन्दै स्थानीय सरकार विरुद्ध नाराबाजी गरेका थिए।
मशाल जुलुस पछिको कोणसभाका वक्ताहरूले जनप्रतिनिधि तथा ठेकेदारको नाजायज मिलिभगतबाट कमला नदीको अवैध दोहन गरी वातावरणीय क्षति पुर्याएको आरोप लगाएका थिए। वक्ताहरूले चुरे क्षेत्र, वन क्षेत्र तथा नदीमा स्काभेटर लगाएर गरिने उत्खनन तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।
गत साता डिभिजन वन कार्यालय लहानले कमला नदी दोहन गर्ने क्रसर व्यवसायी र कर्जन्हा नगरपालिका १ का वडाअध्यक्ष फणिन्द्र पोखरेललाई पक्राउ गरि कारबाही सुरु गरेको थियो। वडाध्यक्षलाई पक्राउ गरिएको विरोधमा त्यहाँका मेयर भोला पोखरेलको नेतृत्वमा राजमार्ग अवरुद्ध गरि इलाका वन कार्यालय समेत घेराउ गरिएको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया