परिवारले समय दिन नभ्याउने काठमाडौँका जेष्ठ नागरिकलाई बौद्धनाथले लग्यो धार्मिक भ्रमणमा
काठमाडौँ- बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित ज्येष्ठ नागरिक धार्मिक भ्रमण सम्पन्न भएको छ । समितिले काठमाडौँ महानगरपालिका- ६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूको सम्मान स्वरूप तीन दिने लुम्बिनीलगायतका धार्मिकस्थलहरूको भ्रमण गराएको हो । ज्येष्ठ नागरिकहरूको चाहनाअनुसार बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको नेतृत्वमा ज्येष्ठ नागरिकहरू धार्मिक भ्रमणमा निस्किएका थिए ।
लुम्बिनीमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन, भ्रमण एवम् दर्शनका लागि पुस १३ गतेदेखि भ्रमणमा निस्किएका काठमाडौँ महानगरपालिका-६ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिक र स्वयम् सेवक गरि २५० जनाभन्दा बढीको टोली भ्रमण पूरा गरेर पुस १५ गते आइतबार साँझ काठमाडौँ फर्किएको अध्यक्ष लामाले बताए ।
पुस १३ गते साँझ लुम्बिनी पुगेको टोलीलाई लामा गुरु लाक्पा शेर्पाले गुम्बामा स्वागत गरेका थिए । पुस १४ गते बिहान लुम्बिनीको मायादेवी मन्दिरलगायतका धार्मिकस्थल अवलोकन पश्चात प्राचीन कपिलवस्तु राज्य अन्तरतको पुरातात्विकस्थल कुदान भ्रमण गरिएको थियो ।
उक्त ठाउँमा गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेको भन्ने बताइन्छ । कुदान पश्चात बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार, कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा रहेको अशोक स्तम्भलगायतको अवलोकन गरिएको थियो ।
तिर्थाटनको रहर हुँदाहुँदै मुख्य-मुख्य धार्मिकस्थल भ्रमणमा पुग्न नपाएका ज्येष्ठ नागरिकहरू उत्साहित देखिएका थिए । त्यसैगरि भ्रमणको अन्तिम दिन पुस १५ गते फर्कँदा भगवान् बुद्धको अस्थिधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा र नवलपरासीको सिजी शास्वत धाम समेत अवलोकन गरिएको थियो ।
परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका जेष्ठ नागरिकहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले बौद्ध नाथ क्षेत्र विकास समितिको वार्षिक कार्यक्रमको बजेटबाट भ्रमणमा लगिएको समितिका अध्यक्ष लामाले बताए ।
'उमेर गएका वृद्धहरू पटक-पटक घुमफिर गर्न नपाउने भएकाले यस वर्ष उनीहरूलाई महत्वका साथ हेरिएको हो । जेष्ठ नागरिक इतिहासको ऐना भएकाले उनीहरूको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ । जेष्ठ नागरिक समाजका गहना हुन्' अध्यक्ष लामाले भने 'वृद्ध वृद्धा हुँदै गएपछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि उनीहरूलाई भ्रमणको आयोजना गरिएको हो ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया