समाज

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने

इकागज |
पुस २२, २०८० आइतबार ७:२० बजे

काठमाडौँ- अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् ।

राम जन्मभूमि तिर्थ क्षेत्रले गरेको निमन्त्रणाअनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् ।


अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रितिरिवाजअनुसार विशेष पूजा यही १७ जनवरीदेखि प्रारम्भ हुँदैछ जुन २२ जनवरीको प्राण प्रतिष्ठा हुँदैछ ।

यस प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीको रुपमा गौतमलाई आमन्त्रित गरिएको हो । श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले दुर्गाप्रसाद गौतमलाई १६ जनवरीदेखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गई रहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणा पत्र पठाएका हुन् ।

झापा जिल्ला मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको बताए ।

अयोध्याको यस प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ । विश्व हिन्दू परिषद्‌ नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०–३५ वटा साधुसन्तहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए ।


Author

थप समाचार
x