समाज

सुर्खेत चौकुने गाउँपालिकाका अध्यक्ष भन्छन्:

‘समस्या आएपछि राहत माग गरिएकै हो, युवाहरुले दिएपछि बाँडेका हौँ’

इकागज |
जेठ २२, २०७८ शनिबार २२:३० बजे

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही । फोटो/फेसबुकबाट

काठमाडौँ : दक्षिण कोरियामा रहेका युवाहरुसँग राहत माग गरेर २० घर दलित तथा गरीब परिवारलाई वितरण गरेपछि विवादमा तानिएका सुर्खेत चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले राहत माग गरेरै वितरण गरिएको बताएका छन् ।

गाँउपालिकाको ७ र ८ वडाका केही घर परिवार समस्यामा रहेको थाहा पाएपछि सहयोगको खोजी गरेको र दक्षिण कोरियामा रहेका युवाहरुले राहत दिने बताएपछि औपचारिक रुपमा प्रक्रिया पुर्याएरै माग गरेर वितरण गरिएको अध्यक्ष शाहीले बताएका हुन् ।


‘केही घर परिवारमा खानाकै समस्या छ भनेपछि हामीले सहयोगको खोजी गरेका थियौँ’ उनले इकागजसँग टेलिफोनमा भने, ‘कोरियामा रहेका गाँउकै युवाहरुले राहत दिन तयार रहेको बताएपछि औपचारिक रुपमा माग गर्ने र राहत आएपछि वितरण गरिएको हो । त्यो हाम्रो चाहना होइन, युवाहरुले राहत वितरण गरिदिनुस भनेपछि गएर वितरण गरेका हौँ ।’

चौकुने गाउँपालिकाका ७ र ८ का २० घर दलित तथा गरीब परिवारलाई शनिबार राहत वितरण गरिएको हो । उनीहरुमध्ये १८ घर परिवार दलितका थिए । राहतमा एक एक कट्टा चामल र केही खाद्यान्न थियो । कोरियामा रहेका युवाहरुले खाद्यान्न किन्ने रकम पठाएर राहत वितरण गरिएको हो । 

तर चौकुनेका युवाहरुले भने पालिकामा भएको समस्या गाउँपालिकाले समाधान गर्नुपर्नेमा प्रवासमा रहेका युवाहरुसँग राहत मागेर वितरण गर्नु लज्जास्पद रहेको भन्दै आलोचना गरेका छन् । आलोचना गर्नु स्वभाविक भएको र त्यसले केही फरक नपर्ने गाउँपालिका अध्यक्ष शाहीले बताए ।

‘जनतालाई राहत बाड्दा केहीलाई पचेको छैन’ उनले थप अगाडि भने, ‘कसैलाई पचाउन गाह्रो हुन्छ भने हामी के गरौँ ? हामी गाउँपालिकाबाट जनतालाई काम दिइरहेका छौँ । पारिश्रमिक दिइरहेका छौँ ।’ उनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत राहत र पारिश्रमिक दुवै दिने काम भइरहेको दाबी गरे । यसले गाउँमा विकास हुने पनि उनको भनाइ छ । 

र, यो पनि
 


Author

थप समाचार
x