समाज

स्टार्टअपलाई दीर्घकालिन रुपमा कसरी लैजाने ?

इकागज |
पुस २४, २०८० मंगलबार ११:७ बजे

काठमाडौँ- हल्ट प्राइज अ्याट आइ.ओ.ई, पुल्चोक क्याम्पसले गत शनिबार उद्यमशीलता छलफल श्रृंखलाको दोस्रो चरण उत्साहजनक रुपमा सञ्चालन गर्‍यो । सो कार्यक्रम शनिबार बेलुकी साढे सातदेखि जुममार्फत्‌ अनलाइन सम्पादन भएको थियो ।

हल्ट प्राइज क्याम्पस तह प्रतियोगिताका लागि टोली दर्ता नजिकिएसँगै यो कार्यक्रमले मेन्टरशिप सत्रको भूमिका निर्वाह गरेको छ । 'स्टार्टअप संस्कृति' प्रमुख छलफलको विषय रहेको यस कार्यक्रममा ‘फ्रोकर’ नामक एपका संस्थापक सदस्यहरूलाई आफ्नो अनुभव र सफल व्यवसायका लागि अपनाउनुपर्ने सिद्धान्त सहभागीहरू सामु प्रस्तुत गर्न बोलाइएको थियो ।


कार्यक्रममा फोनपेका उत्पादन व्यवस्थापक अक्षत सक्सेना, पेटीएमका व्यावसायिक विश्लेषक सौर्य सिंहका साथसाथै अमेजोनका सफ्टवेयर डेभलपर अमोघ सक्सेना र प्राची पटेललाई अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

कार्यक्रम औपचारिक रुपमा सुरू गर्दै आयोजक सिम्रन महर्जनले क्याम्पस निर्देशक आदित्य पाण्डेलाई आफ्नो मन्तव्य राख्न मञ्च सुम्पिएकी थिइन् । यस वर्षको थिममा प्रकाश पार्दै टेक्निकल टोलीले तयार पारेको रोमाञ्चक भिडियो प्रस्तुत गरेर आदित्यले आफ्‍नो मन्तव्य टुंग्याए । त्यसपछि फोनपेका उत्पादन व्यवस्थापक र फ्रोकरका संस्थापक अक्षत सक्सेनाले स्टार्टअप र व्यवसायको अन्तर देखाउँदै फ्रोकरको विस्तृत सर्वेक्षण गराए ।

स्टार्टअप पैसा कमाउने बाटो नभई समाज सुधारको स्तमभ भएको उनले बताए । देशका कर्णधार मानिने युवाहरू जुनसुकै क्षेत्रमा लाग्दा पनि व्यक्तिगत स्वार्थलाई नहेरी समाजमा कसरी सकरात्मक प्रभाव ल्याउन सकिन्छ भन्ने मानसिकता रहनु आवश्यक रहेको बताए । 'भिन्‍न भौगोलिक क्षेत्रमा भिन्‍न-भिन्‍नै समस्याहरू हुन्छन्, र ती समस्याका अथाह समाधान । ती अथाह समाधानका उपायमध्ये हामीले व्यवहारिक र चलायमान उपाय रोज्नुपर्छ जसले अधिकतम ग्राहक सन्तुष्ट हुन्' उनले भने 'यस्तो समाधान खोज्न ग्राहक वर्गको दृष्टिकोण बुझ्न अपरिहार्य रहेको छ ।'

समर्पण, धैर्यता र सहनशिलता सफल उद्यमीका तीन उल्लेखनिय सीप भएको बताउँदै स्टार्टअपलाई दीर्घकालिन रुपमा लैजान खाँचो पर्ने विषय व्याख्या गर्दै उपलब्ध स्रोतसाधन कसरी प्रयोग गर्ने भनेर पनि बताए ।

अमेजोनको सफ्टवेयर डेभलपर भई कार्यरत रहँदा आफुले अनुभव गरेका नेतृत्व विकास गर्न आवश्यक गुणहरू चर्चा गर्दै प्राची पटेलले सहभागीहरूको ध्यानाकर्षण गरिन् । उनको अनुसार कुनै पनि व्यवसाय फस्टाउन तीन कुरालाई आधार मान्नु पर्ने हुन्छ । 'पहिलो ग्राहक वर्ग के कुराले तल्लिन छन्, दोस्रो उपभोक्ताले स्वामित्व जनाउन सक्लान् कि नसक्लान् र तेस्रो प्रविधिको सहजीकरण' उनले भनिन् 'यी तीन मुद्दालाई सम्बोधन गर्न सके स्टार्टअप होस् वा व्यवसाय दुवै कुशल हुँदै जान्छन् ।' यसका साथै प्राचीले सहभागीहरूलाई जीवनमा हरेक अनुभव फलदायी हुनेछन् र तीनै अनुभवले भविष्यमा मार्गदर्शन गराउने छन् भन्दै आफ्नो लक्ष्यतर्फ लाग्न प्रेरित गरिन् ।

कार्यक्रमलाई अघि बढाउँदै अमोघ सक्सेनाले आजको समाजमा प्रविधिको खाँचो विज्ञानको क्षेत्रमा मात्रै सिमित नभएको कुरा बताए । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै आफु वरपरको वातावरणबाट प्रणा लिँदै कुनै पनि क्षेत्रमा स्टार्टअप गर्न सकिने उनले बताए । प्रविधि समयसँगै बदलिँदो भएपनि शक्तिशाली भएको कुरा उनले बताए ।

यसका साथै मानिसमा सद्‌भावको महत्वबारे पनि अमोघले चर्चा गरे । 'यदि तपाईंको व्यवसायले समाजमा व्याप्त कुनै समस्या समाधान गर्छ र त्यो सद्‍भावमा आधारित छ भने त्यसतो योजना सफल हुन धेरै समय लाग्दैन' उनले भने । व्यवसाय फस्टाउन उद्यमीहरूले उपभोगताको मानसिकताले सोच्न पर्ने उनले बताए । अन्त्यमा अमोघले जोखिम लिन डराउन नहुने बताए ।

सौर्य सिंह कार्यक्रममा उपस्थिति हुन सकेनन् तर उनले अक्षतमार्फत आफ्नो सन्देश सहभागीहरूसम्म पुर्‍याएका थिए । नयाँ योजना सुरू गर्दा कुन-कुन स्रोतहरूबाट सहयोग पाउन सकिन्छ र पुँजीको अभाव नहुने तरिकाले कसरी सेटअप गर्ने भन्ने विषय उनले समेटेका थिए ।

सहभागीहरूको जिज्ञासाहरू पनि अतिथिद्वारा सम्बोधन गरिएको थियो । उत्साहित र सक्रिय सहभागीहरूको उपस्थितिले कार्यक्रम थप रोचक बनेको थियो ।


Author

थप समाचार
x