समाज

‘आईओएसए’मा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्यो हिमालय एअरलाइन्स्

इकागज |
पुस २५, २०८० बुधबार ७:४६ बजे

काठमाडौँ- हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम 'आईओएसए'मा दर्ता भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ । हिमालयले २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA)ले ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त ‘आईओएसए’ प्रमाणिकरण गरेको हो ।

'हिमालय एअरलाइन्स् प्रा.लि ‘आईओएसए’ कार्यक्रम म्यानुअलको प्रावधान अनुसार IATA अपरेशनल सेफ्टी अडिट प्रोग्राम (‘आईओएसए’) अन्तर्गत ‘आईओएसए’ अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ' उक्त प्रमाणपत्रमा लेखिएको छ ।


हिमालयका लागि ‘आईओएसए’ प्रमाणीकरणले हिमालयले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको दाबी गरेको छ । नेपालको पहिलो र एकमात्र ‘आईओएसए’ प्रमाणित वायुसेवाको रूपमा हिमालयले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । 

'यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी निकै खुसी छौँ' हिमालय एअरलाइन्स्‌का उपाध्यक्ष विजय श्रेष्ठले भने, 'यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।'

'नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एअरलाइन्स्‌लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित ‘आईओएसए’ प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु' उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले भनिन् 'हिमालय एअरलाइन्स्‌को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुऱ्याउँछ ।'

IATA अपरेशनल सेफ्टी अडिट (‘आईओएसए’) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवर्द्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागि विकास गरिएको हो ।

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मुल्याङ्कनका साथै साइटको समीक्षासमेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई ‘आईओएसए’ प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, ‘आईओएसए’ दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन IATA सदस्यताको लागि पूर्व शर्त पनि हो ।


Author

थप समाचार
x