७ लाखलाई १० मिनेटमा डबल बनाउन हिँडेका लामा नफर्किएपछि...
काठमाडौँ- घटना गत पुस १६ गतेको हो ।
काठमाडौँ बुढानिलकण्ठ नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए ।
उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए ।
प्रहरीका अनुसार काम विशेषले काठमाडौँ आएका वलीलाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-५ घर भई काठमाडौँ-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामाले भेटे ।
सडकमा घुमिरहेका बेला वलीलाई नै लामाले ‘मुर्गा’ बनाउने योजना बनाए ।
लामाले वलीलाई बोलाए र नक्कली पैसाको भिडियो देखाइदिए ।
तुरुन्तै सात लाख रुपैयाँ दिए १० मिनेटमा दोब्बर बनाएर ल्याउँछु भने । जसै वली लोभिइहाले । ‘१० मिनेट कुर म यसको दोब्बर बनाएर ल्याउँछु भनेका लामा फर्केनन्,’ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने ‘त्यसपछि वली प्रहरीकहाँ आए ।’
वलीको जाहेरीपछि प्रहरी लामाको खोजीमा लागिरहेको थियो । यसक्रममा परिसरको टोलीले लामालाई बुधबार स्वयम्भूबाट पक्राउ गरेको ढुंगेलले बताए ।
लामाको साथबाट ६० हजार रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ । उनलाई हिरासतमा राखेर ठगीको अन्य घटनाबारे अनुसन्धान थालिएको ढुंगेलले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया