समाज

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

इकागज |
पुस २६, २०८० बिहीबार १८:१४ बजे

काठमाडौँ-  मंगलबार राति काठमाडौँमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।


मंगलबार साँझ काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता छ । उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

आफ्नै बाल अनुयायीमाथि यौनशोषण गरेको आरोपमा २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितहरूले जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान सम्पन्न गरेर १८ असार ०७७ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल दर्ता गरेको थियो ।


Author

थप समाचार
x