समाज

युद्धले खुट्टा गुम्यो, चाहनाले सीप सिकायो

इकागज |
पुस २७, २०८० शुक्रबार २१:३७ बजे

फाइल तस्बिर

बलेवा (बागलुङ)- कात्तिकको महिना, गाउँमा कामको चाप (माचो) थियो । खेतमा पाकेको पहेँलपुर धान भित्र्याउन गाउँलेलाई भ्याइनभ्याइ थियो । गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालीचौर झरेका भीमबहादुर विक ‘तानातान’ मा थिए । उनलाई काखमा एक महिनाको छोरा च्यापेर बसेकी सुत्केरीको दानापानी जुटाउनु थियो । विसं २०५९ कात्तिक २५ गते विक बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरको दारेगौँडामा दाइँमा खेताला बने ।

सुत्केरीलाई साँझ बिहानका लागि खाना लिएर फर्किने वाचासहित बिहान घरबाट निस्किएका भीमबहादुरको जीवनमा एकाएक अँध्यारो छायो । जनयुद्ध चरम उत्कर्षमा पुगेका बेला थियो । ग्वालीचौरको दारेगौँडामा गस्तीमा रहेको नेपाली सेनामाथि विद्रोही पक्षले विद्युतीय धराप आक्रमण गर्‍यो । स्थानीय दाइका दाइँका गोरु थपाइरहेका भीमबहादुरले एकैपटक जमिन थर्किने गरी ठूलो आवाज सुने । आवाजको गति मथ्थर नहुँदै उनको बायाँ खुट्टाको घुँडामाथि गोली लाग्यो । खुट्टाको मूल नसा नै चुँड्यो । क्षणभरमै खेतमा काम गरिरहेका भीमबहादुर दाइ भएकै ठाउँमा पल्टिए ।


घटनामा दुई जना नेपाली सेनाका जवान मारिए । धराप पड्केर आफ्ना जवानको मृत्यु भएपछि सेनाले अन्धाधुन्ध गोली चलायो । 'आँखै अघि धेरै जना ढले । कोही म जस्तै घाइते भए । कसैले संसारै छोडे,' विकले भने, 'मेरो त सर्वस्व सकियो । झण्डै छोराछोरी टुहुरा भएका थिए । घटनामा ११ जना सर्वसाधारण मारिए । बाँकी छ जना घाइते भएका थिए ।'

घाइतेमध्ये खिमबहादुर जिसीको २०६० सालमा उपचारकै क्रममा मृत्यु भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राजीव घिमिरेले बताए । उनका अनुसार भीमबहादुर, खुसीराम विकलगायतका घाइते अहिले पनि दुःखजिलो गरेर जीवन बिताइरहेका छन् ।

'कपडाको टालो बाँधेर एक महिना गोली भएकै अवस्थामा जसोतसो चलेँ । गोली खुट्टामै थियो । ऊ बेला कसले उपचार गरिदिने ? खर्च पनि त थिएन,' भीमबहादुरले ती दिन सम्झँदै भने, 'एक महिनापछि उपचार त भयो तर नसो सोझिएन ।' गण्डकी अस्पताल पोखरामा सामान्य उपचारपछि घर फर्किएका भीमबहादुरको अहिले पनि देब्रे खुट्टा चल्दैन । वैशाखीको भरमा हिँड्छन् ।

तीन छोरी र दुई छोराका बाउ नै अशक्त भएपछि परिवार पाल्ने जिम्मेवारी आमा सुमित्राको काँधमा आइपर्‍यो । निमेक नै गरेर उनले छाक टारे । कहिले स-साना छोराछोरी बोकेरै मेलामा पुग्ने त कहिले एक्लै मेलापात गरेर घर खर्च चलाएको सुमित्राले सुनाइन् । घटना भएको २१ वर्ष बित्यो । युद्धरत माओवादी र सरकारबीच शान्ति सम्झौता भयो । सम्झौतापछि भीमबहादुरले पनि एकपटक सरकारबाट एक लाख राहत प्राप्त गरे ।

'गाउँकै एक जना सरले कागज बनाउनेदेखि सबै काम गरिदिनुभयो । बजार जाँदा-आउँदा खर्च दिनुभयो,' विकले सम्झिए, '३० हजार खर्च भएको रहेछ । ७० हजार हात लाग्याथ्यो । अरू केही पाएको छैन ।' भीमबहादुरले आफू भूमिहीन भएको बताए । 'बडिगाड-५ मा रहेको अहिले घर पनि सार्वजनिक जग्गामा छ । तीन जना छोरीको बिहे भयो । घाइते हुने बेला एक महिनाका विष्णु विक अहिले २१ वर्षका भए । परिवारका दुःख भने अझै हरिएका छैनन्,' उनले भने ।

'जेठोले भारतमा सामान्य काम गरेर आफ्नो खर्च चलाउँदै छ । कान्छो घरमै छ, निमेक पाहुर गर्नेबाहेक हाम्रो आम्दानी केही छैन,' सुमित्राले भनिन्, 'हाम्रा लागि त भगवान् पनि बैरी बनेर आयो, घर धान्ने मुलीलाई नै उमेर छँदै ढलायो ।'

भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे । कहिले चोयाका सामग्री बनाउने त कहिले बसेरै गर्न सकिने कामको खोजी गरे । उनले कामबाट कहिल्यै जस नपाएको बताए । कुनै ठूलो सहयोगको आशा नगरेको बताउँदै उनले जीवन गुजार्ने सीप खोजिरहेको भने ।

थोरै लगानी र मेहनतले प्रशस्त आम्दानीको स्रोत खोजिरहेका भीमबहादुर आजभोलि च्याउखेती गर्न थालेका छन् । ग्रामीण स्वास्थ्य सुधार परियोजना (बिवाइसी) भन्ने सामाजिक संस्थाले उनलाई च्याउखेतीको तालिम दिएको थियो । घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राखे । 'सजिलो काम भएकाले मैले धेरै गर्नसक्ने तर न त जग्गा छ, न त पुँजी,' उनले भने, 'कसैको साथ/सहयोग पाए सामान्य खर्च चलाउने काम गर्न सक्थेँ ।'

स्थानीय बजारमा च्याउको खपत हुने भएकाले आशा पलाएको भीमबहादुरको भनाइ थियो । तालिममार्फत च्याउ खेती सिकेकाले आर्थिक सहयोग पाएमा व्यावसायिक रूपमा यहीँ खेती गर्ने योजना रहेको उनले बताए । रासस


Author

थप समाचार
x