समाज

खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै अकुपाई टुँडिखेलको आपत्ति

इकागज |
पुस २९, २०८० आइतबार १६:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा दुई वटा फुटबल ग्राउन्ड बनाउन लागेको भन्दै ‘मुक्त टुँडिखेल’ अभियानका अभियन्ताहरूले विरोध गरेका छन् । अभियन्ताहरूले आइतबार विज्ञप्ति जारी गर्दै खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व रहेकाले यहाँ फुटबल ग्राउन्ड बनाउँदा त्यसले ती गतिविधिमा असर पुर्‍याउने भन्दै उनीहरूले विरोध जनाएका हुन्।

अकुपाई टुँडिखेलले खुल्लामञ्चमा भूमिगत पार्किङको सट्टा दुई वटा खेल मैदान बनाउन लागेको जानकारी प्राप्त भएको भन्दै त्यसो नगर्न काठमाडौँ महानगरको ध्यानाकर्षण गराएको छ। ‘अकुपाई टुँडिखेल’ अभियानका अगुवा आलोकसिद्धि तुलाधरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरको योजनाप्रति आपत्ति जनाउँदै खुलामञ्च खुल्ला नै हुनुपर्ने माग गरेका छन्।'यस मैदान सम्पदामा कुनै पनि प्रकारको निर्माण वा हस्तक्षेप नितान्त गलत हो,' विज्ञप्तिमा भनिएको छ।


अकुपाई टुँडिखेलको विज्ञप्तिमा टुँडिखेलमा तीन तहको भूमिगत पार्किङको डीपीआर अगाडि नबढाउने भन्ने सुन्नमा आए पनि आधिकारिक रूपमा सूचना सम्प्रेषण नभएको, तर त्यसको साटो दुई वटा फुटबल ग्राउन्ड निर्माण गर्न लागिएको उल्लेख छ।

'खेल मैदान काठमाडौँको आवश्यकता हो: यसमा दुई मत रहन सक्दैन । तर खुल्लामञ्चको आफ्नो सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व छ। खुलामञ्च सभा, सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने, लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तका लागि महत्त्वपूर्ण क्षेत्र र जीवन दाहिनीसमेत हो,'विज्ञप्तिमा भनिएको छ, 'दुई वटा फुटबल ग्राउन्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको कम्पाटिबल युज नहुने स्थिति देखिन्छ।'

खुलामञ्च जनताका लागि खुल्ला गरी बच्चादेखि वृद्धसम्मका जनतालाई आवश्यकता अनुसारको क्रियाकलाप गर्न दिन स्थानीय सरकारलाई अकुपाई टुँडिखेल अभियान अनुरोध गरेको छ ।

अकुपाई टुँडिखेलले भूकम्प तथा दैवी प्रकोपको दृष्टिकोणले समेत खुलामञ्च संरक्षण गर्नुपर्ने देखिएको, खुलामञ्च नागरिकका लागि खुल्ला रहँदा नै बहुप्रयोजन र आफ्नो नयाँ कुरा सिर्जना गर्न सक्ने थलो बन्न सक्ने, अन्यथा खुल्लामञ्चले लैनचौरको कृत्रिम फुटसल पार्क र त्यहाँको स्थानीयले जस्तो दुर्गति भोग्नुपर्नेसमेत स्मरण गराएको छ।

 


Author

थप समाचार
x