बादी समुदायलाई गुजारा चलाउनै मुस्किल, मुख्यमन्त्री कार्यालय पुगेर मागे यौन पेशाको स्वीकृति
धनगढी : बाँच्न पाउने अधिकार कुन्ठित भएको भन्दै बादी समुदायले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बादी समुदायको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन् ।
उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको बताइन् । उनका अनुसार सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेको थियो ।
‘बादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर संघर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले यौनशोषण मुक्त गर्नाका साथै पुनःस्थापना समेत गर्ने घोषणा गरेको थियो । तर निर्णय कार्यान्वयन भएको छैन’ प्रदेशसभा सदस्य बादीले भनिन् ।
पुनःस्थापना नहुँदा पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको उनीहरूको भनाइ छ । बादी समुदायको गास, बास र कपासको व्यवस्था गर्ने सरकारले निर्णय गरे पनि कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय आउन बाध्य भएको शिवराज राना बादीले बताए ।
‘पटकपटक ताकेता गर्दा पनि सुनुवाइ भएको छैन्,’ उनले भने, ‘सरकारले बादी समुदायका महिलाहरूलाई स्वत:स्फूर्त यौन पेशाका लागि स्वीकृति दिनुपर्छ ।’
डोटीबाट मुख्यमन्त्री कार्यालय पुगेकी बसन्ती बादीले पनि आफ्ना लागि सरकार नभएको दुखेसो पोखिन् । ‘सरकारलाई राजश्व तिर्न तयार छौं । यौन पेशाको विकल्प नदिने भए लाइसेन्स दिएरै स्वीकृति दिनुपर्छ,’ उनले भनिन् । ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने, 'हिजोका दिनमा राज्यले गर्छौँ भनेकै माग रहेकोले प्रदेश सरकारले गर्न सक्ने जति सबै माग कार्यान्वयन हुनेछ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया