बारासँग जोडिएको भारतीय नाकाबाट गाडी चल्ने सहमति, रौतहटसँगको कहिले ?
रौतहट- लामो समयपछि बारासँग जोडिएको साना सीमा नाकाहरूबाट चारपांग्रे सवारी साधन चल्ने सहमति भएको छ ।
कोरोनापछि नियमित सञ्चालन रहेको साना नाकाहरू पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले चारपांग्रे सवारी साधन आवतजावतमा रोक लगाएको थियो । करिब एक वर्षदेखि एसएसबीले सदियौंदेखि चलिआएको व्यवहारको वास्ता नगरी सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक दुःख दिने गरेको कारण बेटीरोटीको सम्बन्ध प्रभावित बनेको थियो ।
तर, तीन दिनअघि भारतीय सुरक्षाकर्मी एसएसबीको प्रधान कार्यालयले निर्णय गरेपछि बारासँग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमति दिएको छ । तर, रौतहटसँग जोडिएको कुनै पनि नाकाबाट गाडी आवतजावतको लागि हालसम्म अनुमति दिइएको छैन ।
बाराको ककोर्वा हुँदै भारतको झरोखर-घोडासन, बाराको मटिअर्वा सन्तगन्ज, महुअवा कटगेनवा अदापुर नाकाबाट गाडी आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एसपी कान्तेश मिश्राले बताएका छन् ।
एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवतजावतबारे छलफल भइरहेको जानकारी दिएका छन् ।
रौतहटका सिडिओ हिरालाल रेग्मीले रौतहटको साना नाका खोल्ने निर्णयबारे आफूलाई जानकारी नभएको र यसबारे भारतीय समकक्षीसँगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल र भारतबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहिआएको छ ।
रौतहटको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ ।
रौतहटस्थित २८ किलोमिटर लामो भारतीय सिमानासँग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजारमाथि नै निर्भर रहेका छन् ।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडादेखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लगायतका सामग्री भारतीय बजारबाट नै ल्याउने गर्दछन् । जिल्ला सदरमुकाम गौर २०/३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टरमाथि निर्भर रहेको समाजसेवी ठाकुरले बताएका छन् । वारिपारीबीच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरीबुहारी वारिपारी गर्नुपर्ने चलन रहर र बाध्यता रहेको छ ।
सीमावर्ती नेपाली हजारौं परिवारको यो दैनिकी चलि नै आएको थियो ।
यस्तो चलन र दैनिकी रौतहटको मात्र नभई नेपालको तराई मधेश र भारतको बिहार उत्तरप्रदेशबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध रहेको छ ।
कोरोना महामारीपछि सधैंको जस्तो गाडी मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावतमा कुनै समस्या थिएन, सीमा क्षेत्रका मानिस सहज रूपमा वारिपारी आउने गरेका थिए । तर, पछिल्लो समय भारतीय सिमानामा खटिएका एसएसबीले चारपांग्रे सवारीसाधन आउजाउमा रोक लगाएका थिए ।
माथिको आदेश भन्दै उनीहरूले रौतहटको सदरमुकाम गौर हुँदै भारतीय बजार बरागिनिया अथवा वीरगंज हुँदै रक्सौल भएर मात्र आउन जान दिएका थिए ।
कहिले काहीँ नेपाल-भारत सीमा क्षेत्रबाट आवतजावत गर्दा भारतीय सुरक्षाकर्मीहरूले परिचय खुल्ने कागजात माग्न थालेका थिए ।
यसरी भारतीय सुरक्षाकर्मीले गाडी आउजाउमा रोक लगाएपछि मात्र ५ किलोमिटर पारीको गाउँ पुग्न ४०/५९ किलोमिटर टाढाको घुमाउरो बाटो जानुपर्ने हजारौं परिवारको बाध्यता भएको थियो ।
पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गरेको थियो ।
मधेश प्रदेशसँग सीमा जोडिएका सबै नाकाहरूमा भारतीय एसएसबीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधारकार्ड खोज्न थालेका थिए ।
भारतका मिडिया रिपोर्ट अनुसार पाकिस्तानी नागरिक सीमा र भारतीय नागरिक सचिन १० मार्चदेखि १७ मार्चसम्म काठमाडौँमा थिए । त्यसपछि उनी स्थलमार्ग हुँदै नोयडा पुगेका थिए ।
झण्डै १० महिनादेखि सीमा क्षेत्रका मानिसको समस्याबारे कुनै जनप्रतिनिधि तथा कुनै पनि दलका नेताले राज्यस्तरसम्म आवाज उठाउन सकेका थिएनन् । न्युजकारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया