समाज

‘चक्काजाम’को एक महिनामा ३ सय दुर्घटना, ६ को मृत्यु

सृजना खड्का |
जेठ २३, २०७८ आइतबार १९:२४ बजे

काठमाडौँ  : निषेधाज्ञा सुरु भएपछि सडक सुनसान देखिए । कोभिड-१९ का कारण ‘सरकारी चक्काजाम’ सुरु भयो । अत्यावश्यकबाहेक सबै सवारीसाधन ठप्पै भए । तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार निषेधाज्ञाको समयमै पनि सवारी दुर्घटनामा कमी आएको छैन ।

महाशाखाका अनुसार निषेधाज्ञा सुरु भएदेखि हालसम्म ३ सय ३ सवारी दुर्घटना भएका छन् । जसमा ६ जनाले ज्यान गुमाएका छन् । यी दुर्घटनामा ११ जना गम्भीर घाइते र  २ सय ४० जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ ।


महाशाखाको तथ्यांकले वैशाख महिनाको १६ दिनमा १ सय ४५ सवारी दुर्घटना भएको देखाउँछ । जसमा ४ जना गम्भिर घाइते र १ सय २ जना सामान्य घाइते भएका छन् । यी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । त्यस्तै, जेठ २२ गतेसम्ममा १ सय ५८ सवारी दुर्घटनामा परेका छन् । जसमा ७ जना सामान्य घाइते र १ सय ३८ जना गम्भीर घाइते भएका छन् । यही महिना सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई सवारी दुर्घटनामा गाडीको संख्या मात्रै नहेरिने बताउँछन् । ‘दुर्घटना हुने कारणमा गाडीको संख्या मात्रै नापिँदैन,’ उनी भन्छन्, ‘गाडीको स्पिड र चालकको लापर्वाहीलाई पनि उत्तिकै हेर्नुपर्ने हुन्छ । निषेधाज्ञाले सडक खाली हुने भएकाले स्पिडमा सवारी साधन चलाउँदा दुर्घटना हुने गरेको छ ।’ चालकले लापर्वाही नहुने हो भने निषेधाज्ञा मात्रै नभएर अरु बेलामा पनि सवारी दुर्घटनामा कमी आउने उनी बताउँछन् ।

‘सवारी दुर्घटना हुने प्रमुख कारण चालको लापर्वाही हो,’ उनी भन्छन्, ‘चालकले संयमित भएर सवारी चलाउने हो भने सवारी दुुर्घटना आफैँ कम हुँदै जान्छ ।’ दुर्घटना निरीक्षक केपी शर्मा भने एक महिना निषेधाज्ञा हुँदा तीन सयभन्दा बढी सवारी दुर्घटना हुनुको पछाडि प्रहरी जिम्मेवार भएको बताउँछन् ।

‘निषेधाज्ञामा अत्यावश्यकबाहेक सवारी दौडिन नदिने काम प्रहरीको हो,’ उनी भन्छन्, ‘सडकमा सवारी निस्किएर कुद्ने वातावरण उनीहरूले दिएका हुन् । त्यसैले यसमा उनीहरू जिम्मेवार छन् ।’

त्यस्तै, यसमा चालक पनि उत्तिकै दोषी रहेको भएको उनी बताउँछन् । ‘यस्तो बेलामा धेरैजसो दुर्घटनाहरू ट्राफिकको आँखा छल्न खोल्दै सवारी दौडाउन खोज्दा हुन्छ,’ उनी भन्छन्, ‘ट्राफिकको आँखा छल्दै स्पिडमा सवारी हाँक्दा दुर्घटना भएका उदाहरण पनि छन् । अत्यावश्यकबाहेक पनि घरबाहिर निस्किन खोज्दा यो परिस्थिति निम्तिएको हो ।’

सामान्य अवस्थामा भने महिनामा ९ सयदेखि १३ सयसम्म सवारी दुर्घटना हुने गरेको तथ्यांक छ । यो हिसाबले हेर्दा निषेधाज्ञाको समयमा पनि सवारी दुर्घटना हुने संख्यामा उल्लेख्य कमी नभएको देख्‍न सकिन्छ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x