विद्यालयलाई नगरपालिकाको समन्वयमा दिवा खाजाका लागि भाँडाकुँडा सहयोग
सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिकाले ४९ विद्यालयलाई भाँडाकुँडा सहयोग गरेको छ । नगरपालिकाभित्र रहेका ४९ विद्यालयलाई दिवा खाजा बनाउन आवश्यक पर्ने भाँडाकुँडा सहयोग गरेको हो ।
नगरपालिकाले अहिले नगरभित्रका विद्यालयमा कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम लागू गर्दै आएको छ । सरकार कक्षा ६ सम्म लागू गरे पनि नगरपालिकाले ८ कक्षासम्मका लागि दिवा खाजाको व्यवस्थापन गर्दै आएको हो । सरकारले कक्षा ६ सम्म खाजा व्यवस्था गरेको छ । तर, नगरपालिकाले कक्षा ८ सम्म खाजा खुवाउँदा विद्यार्थी सङ्ख्या धेरै हुने भएकाले आवश्यक भाँडाकुँडा सहयोग गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेले बताए ।
उनका अनुसार नगरपालिकाले विश्व खाद्य कार्यक्रमसँग विगतदेखि नै समन्वय गर्दै आएको छ । त्यहीअनुसार विश्व खाद्य कार्यक्रमसँग समन्वय गरी भाँडाकुँडा दिएको हो । मेयर बस्नेतले भने, 'उनीहरूले भाँडाकुँडा उपलब्ध गराएको छ । हामीले समन्वय गरी वितरण गरेका छौं,' उनले भने ।
बाह्रबिसे नगरपालिकामा कतिपय विद्यालय हिमाली भेगमा पर्छन्, कतिपय बजारमा छन सबै विद्यालाई मध्य नजर गर्दै सहयोग गरेको उनले सुनाए । नगरपालिकाले कक्षा १२ सम्म शिक्षालाई नि:शुल्क गरेको छ । दिवा खाजामा समेत अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने खुवाउन पर्ने गरी दिवा खाजा लागू गर्दै आएको मेयर बस्नेतले बताए ।
गाउँघरमा दाउरा प्रयोग गरेर पकाउने चलन छ, भाँडाकुँडा छिट्टै पातलो र चुहिने हुनाले यो सहयोगले विद्यालय र विद्यार्थीलाई सहज भएको उनीहरू सुनाउँछन् । भुमेश्वरि आधारभूत विद्यालयका प्रअ राजन बुढाथोकी भन्छन्, 'हामीलाई चाहिने एक सरो भाँडाकुँडा नगरपालिकाको समन्वयमा पाएका छौं । यसले विद्यालयलाई सहयोग पुगेको छ ।'
विश्व खाद्यले सो सामग्री उपलब्ध गराएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । किचेनमा आवश्यक पर्ने कराइ, डेक्ची, पनिउ, डाडु, चम्चा, प्लेट, बाल्टिन, मगलगायत सहयोग गरिएको हो । दिवा खाजाका लागि विद्यालयले किनेको सखरखन्ड प्रतिकेजी ६५ रुपैयाँमा किने पनि प्रतिकेजी १५ रुपैयाँ नगरपालिकाले बेहोर्ने गरी खरिद गरेको नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया