समाज

किशोरकिशोरीमा मोबाइलको लत

सामाजिक सञ्जाल अपराधको अखडा बन्दै

चार वर्षमा साइबर अपराधका २९ हजार ८ सय ४४ उजुरी

शुरज थपलिया |
माघ ५, २०८० शुक्रबार १८:१५ बजे

काठमाडौँ- सुर्खेतकी दिपा बड्वाल (नाम परिवर्तन) कक्षा ८ मा पढ्छिन् । विद्यालयमा उनको पढाइ पनि राम्रै छ । समयमै विद्यालय जाने र आउने गर्ने उनी अभिभावककी प्यारी छोरी हुन् ।

दिपाको परिवारमा सबैको हातमा मोबाइल हुन्थे । उनलाई पनि मोबाइलसँग नजिक हुने चाहना बढ्दै गयो । घरकी कान्छी छोरी भएकाले मोबाइल चलाउन अनुमति पाइन् । 


मोबाइल चलाउन पाएसँगै दिपा फेसबुकमा जोडिन पुगिन् । कक्षामा सँगसँगै पढ्ने साथी, आफन्त तथा नयाँ साथीसँग साथी बन्न थालिन् । 

१३ वर्षीया दिपाको पढाइमा भन्दा मोबाइलमा झुण्डिने लत बसिसकेको थियो । फुर्सद हुँदा फेसबुकमा व्यस्त हुन्थिन् र साथीसँग गफिन थालिहाल्थिन् ।

चिनेका साथी तथा आफन्तभन्दा दिपा नयाँ-नयाँ साथी बनाउन थालिन् । नचिनेका मानिसहरूले उनलाई हानी पुर्‍याउन सक्छन् भन्ने ज्ञानै भएन । उनी नयाँ-नयाँ मानिसहरूसँग बोल्न पाउँदा दङ्ग पर्थिन् । उनको समय र दैनिकी मोबाइलमा बित्न थाल्यो । पढाइमा ध्यान दिनै छाडिन् । 

दिपासँग फेसबुकमार्फत भोजपुरका जीवन राई साथी बनेका थिए । सुरुवातीमा साथी बने पनि बोलचाल भएको थिएन । 

उनको साथी बन्ने क्रम फेसबुकमा रोकिएको थिएन । दिनप्रतिदिन साथीको संख्या बढ्दै गयो । अरूसँग साथी बनेसँगै जीवनसँग उनको बोलचाल सुरु भयो ।

बिहान उठ्नासाथ मोबाइलमा जीवनसँग च्याटमा भुल्थिन् । च्याटमा मात्र नभइ उनी फोनमा घण्टौँ कुरा गर्ने भइसकेकी थिइन् । म्यासेजबाट सुरु भएको बोलचाल प्रेममा पुगिसकेको थियो । 

१९ वर्षीय जीवनले पनि दिपालाई प्रेममा पारिसकेका थिए । उनीहरू दुवै नछुट्टिने अवस्थामा पुगिसकेका थिए । म्यासेन्जरमा कुराकानी भइरहेकै थियो । फोटोहरू साटासाट गर्ने, भविष्यको योजना बनाउने, कल्पनामा हराउने उनीहरूको दैनिकी नै बनेको थियो । 

मोबाइलमा भेट भएका उनीहरूको प्रत्यक्ष भेट भने भएको थिएन् । उनीहरू प्रत्यक्ष भेट्ने निष्कर्षमा पुगे । उनीहरूले भेट्ने ठाउँ रोजे काठमाडौँ । सुर्खेतबाट दिपा र भोजपुरबाट जीवन काठमाडौँमा भेट्ने योजनाका साथ आफ्नो घरबाट भागे । उनीहरू दुवै जनाको भेट गत पुसमा काठमाडौँको बालाजुमा भयो ।

यता, घरबाट दिपा हिँडेको परिवारलाई थाहै थिएन । सानी छोरी कता गइ भन्दै परिवारले खोज्यो । परिवारकाे भाेक निन्द्रा हरायाे । तर, उनको कतै पत्ता लागेन । उनीहरूले सुर्खेतबाट दिपा काठमाडौँ पुगिन् भन्ने शंकै गरेनन् । परिवारले आफन्तकोमा गइन् कि भनेर खोजी गर्दा कतै नभेटेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिए । त्यहाँबाट उनीहरूलाई काठमाडौँ साइबर ब्यूरो जान भनियो । परिवारले काठमाडौँ आएर साइबर ब्यूरोमा छोरी खोजिदिन उजुरी दियो । 

दिपाको फोन नम्बर लाग्थेन । अन्तिममा उनको फेसबुकमार्फत खोजी हुन थाल्यो । उनी कोसँग बोल्थिन् ? फेसबुकबाट कोसँग कुराकानी गर्थिन् सबै पत्ता लाग्यो । प्रहरीले अपरिचित जीवनसँग प्रेममा परेको र सँगै भागेको समेत पत्ता लगायो ।  

जीवनले नै दिपालाई काठमाडौँ बोलाएका थिए । उनले भेटघाट भएपछि दिपालाई अलपत्र पारेर छाडेका थिए । जीवन भने काठमाडौँबाट भोजपुर फर्किसकेका थिए । उनलाई भोजपुर प्रहरीमार्फत पक्राउ गरिएको थियो ।

साइबर ब्यूरोले पनि दिपाको उद्धार गरिसकेको छ । दिपालाई परिवारसँग जिम्मा लगाइसकेको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले बताए । यस्ता घटना हुनु किशोरकिशोरीमा मोबाइलको प्रयोग जिम्मेवारी रहेको उनको भनाइ छ ।

'किशोर अवस्थामा मोबाइल चलाउन दिँदा उनीहरू कसैको फन्दामा पर्ने जोखिम रहने गरेको छ,’ उनले भने, 'अभिभावकले सन्तानको बढ्दो उमेरसँगै मोबाइलको प्रयोग कसरी गरिरहेका छन् भनेर निगरानीमा राख्नुपर्छ ।'

साइबर ब्यूरोका अनुसार पछिल्लो समय दैनिक एक सय ५८ वटा साइबर अपराधका निवेदन लिएर पीडित पुग्ने गरेका छन् । महिलाको चरित्रहत्या र इन्टरनेटमार्फत पैसा हिनामिना र फस्यो भन्दै उजुरी दिन जानेको संख्या बढ्दो छ । 

वार्षिक रूपमा सामाजिक सञ्जालबाट देशभर पीडित हुनेहरूको संख्या पनि बढ्दै गएको छ । ब्यूरोमा दर्ता भएका निवेदनको संख्याले मुलुकमा साइबर अपराधका घटना बढ्दै गएको देखिन्छ ।

चार आर्थिक वर्षको ब्यूरोबाट प्राप्त तथ्यांकका आधारमा कुल २९ हजार ८ सय ४४ निवेदन दर्ता भइसकेका छन् । विभिन्न समयमा गरी फेसबुक, भाइबर, इमो, युट्युब, ह्यवाट्सएप,  ट्वीटर, इन्स्टाग्राम, टिकटक, इमेल, इसेवा, वेबसाइट ह्ययाकिङ र बैंक जस्ता वित्तीय अपराधका घटनाबाट पीडित बनेर ब्यूरोमा दर्ता हुने गरेको संख्या बढ्दै गएको छ । 

साइबर ब्यूरोमा आर्थिक वर्षमा २०८०/०८१ (साउन यतादेखि) मात्रै नाै हजार ९३८ वटा साइबर अपराधका निवेदन दर्ता भएका छन् । 

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा पीडितले २३०१ निवेदन दर्ता गराए । २०७७/०७८ मा ३९०६ दर्ता भयो । २०७८/०७९ मा ४६८६ र २०७९/०८० मा ९०१३ निवेदन दर्ता भएको थियो ।

आ.व २०७६/०७७ मा ५० मुद्दा दर्ता भएका थिए । २०७७/०७८ मा ७६ मुद्दा दर्ता भए । २०७८/०७९ मा १३२ र २०७९/२०८० मा ११० मुद्दा दर्ता भएका थिए ।

साइबर अपराधका घटनामा महिला र बालिकाहरू पीडित हुने गरेको ब्यूरोबाट प्राप्त तथ्यांकले जनाएको छ । आ.व २०७६/०७७ मा ११५८ महिलाले निवेदन दर्ता गराएको थिए । आ.व २०७७/०७८ मा २००३, आ.व २०७८/०७९ मा २३८९ र २०७९/०८० मा ३५४७ महिलाले निवेदन दर्ता गराएका थिए ।

बालबालिका पनि साइबर अपराधको निशानामा पर्न थालिसकेका छन् । अहिले किशोरकिशोरीको हातमा मोबाइल राखिदिँदा उनीहरू साइबर अपराधको उच्च जोखिममा परेका छन् । साथीहरूसँग सम्पर्क गरेर बाहिर निस्कने र अवाञ्छित गतिविधि गरेर सामाजिक सञ्जाललाई प्रयोग गर्ने गरेको पाइएको छ ।

आ.व २०७९/०८० मा बालक ३३ र ८७ बालिका पीडित भएको ब्यूरोले जनाएको छ । २०७८/०७९ मा ४१ बालक र १४२ बालिका छन् । २०७७/०७८ मा ५६ बालक र १५२ बालिका छन् । २०७६/०७७ मा १६ बालक र ८८ बालिका रहेका छन् ।

आ.व २०७९/०८० मा साइबर ब्यूरोमा ५५२३ निवेदन दर्ता भयो । कोशी प्रदेश प्रहरी कार्यालयमा २६१, मधेश प्रदेशमा १५२, बागमती प्रदेशमा २५०, गण्डकी प्रदेश प्रहरी कार्यालयमा १२६, लुम्बिनी प्रहरी प्रदेश कार्यालयमा ३०४, कर्णाली प्रदेश प्रहरी कार्यालयमा ८४ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा १०५ निवेदन दर्ता भएका थिए ।

किशोरकिशोरीहरू टेलिग्राम, स्न्याप, इन्स्टाग्राम र फेसबुकमा

प्रहरी निरीक्षक​ खड्गीले २० देखि ३० वर्ष उमेर समूहका महिलाहरू बढी पीडित भएको भन्दै पुगिरहेको बताए । उजुरी दिनेमा वयस्क उमेरका मानिसको संख्या बढ्दै गएको उनले जानकारी दिए ।

घरका आफन्तसँग भौतिक रूपमा भिड्न नसकेर सामाजिक सञ्जालदेखि रिस पोख्नेले पनि निवेदन दिने गरेको खड्गीले बताए । आफन्तले फेसबुक, भाइबर, इन्स्टाग्राममार्फत गाली गर्ने गरेको भन्दै उजुरी दिने बढेको उनले बताए ।

साइबर अपराधमा कस्ता कानुन आकर्षित हुन्छन् ?

विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ मा उल्लेख गरिएका अपराधहरू साइबर अपराध अन्तर्गत पर्दछन् । दफा ४६- कुनै संस्थालाई गलत तरिकाले हानी नोक्सानी पुर्याउनका लागि कम्प्युटरमा रहेको कुनै सूचनालाई नष्ट गरेमा, क्षति पुर्‍याए वा मेटाएमा र हानिकारक प्रभाव पारेमा कसुर गर्ने व्यक्तिलाई दुई लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै हुन सक्छ । 

दफा ४७ मा उल्लेख भएअनुसार सार्वजनिक रूपमा नैतिकता शिष्टाचारविरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गरेमा । कसैप्रति घृणा वा द्वेष फैलाउने वा कम्प्युटर वा इन्टरनेटको प्रयोगबाट विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गरेमा, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा अमर्यादित कार्य गरेमा र गर्न लगाएमा साइबर अपराध गरेको मानिने छ । यस्ता अपराध गर्ने व्यक्तिलाई १ लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद गरिने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

विद्यालय र विद्यार्थीहरूमा डिजिटल साक्षरता

पछिल्लो समय नाबालिगहरूको चरित्र हत्या गर्ने, यौन दुर्व्यवहार गर्ने गरेका घटनाहरू सार्वजनिक भएका छन् । भर्खरै 'गौशला २६' को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै संखुवासभाबाट एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा के राख्न हुने, के नहुने भन्ने ज्ञान अभावमा पनि अपराध भइरहेका छन् ।

फेसबुकमा स्वयम् व्यक्तिले किन र कसका लागि लेख्ने त्यो कुरा थाहा पाउनुपर्ने समाजशास्त्री डा. मिना  उप्रेती बताउँछिन् । व्यक्तिगत कुरा, सामाजिक संरचना तथा समाजले कस्तो संकेत गरिरहेको त्यसबारेमा थाहा पाउनुपर्ने उनको बुझाइ छ ।

‘हामीले के लेख्नुहुन्छ, के बोल्न हुँदैन त्यसबारेमा हेक्का राख्दैनौँ । मनमा लागेको जे कुरा पनि बोल्न पाइन्छ भनेर अभिव्यक्त गरिन्छ । गाली र कुण्ठा पोख्ने ठाउँ भएको छ । कालान्तरमा यसले असर गर्छ भनेर ख्याल गर्न छौड्यौँ,’ उनले भनिन् ।

युवाहरूमा इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगको शिक्षा दिनु अत्यन्त जरुरी छ । विद्यालयहरूमा यसको शिक्षा समावेश गरिनुपर्छ, जसले विद्यार्थीहरूलाई डिजिटल संसारमा सुरक्षित र जिम्मेवार बनाउन सहयोग पुर्‍याउँछ।

विशेषगरी, नेपाल सरकारले गरेको टिकटक प्रतिबन्धले इन्टरनेट दुरुपयोग र साइबर बुलिङविरुद्धको सरकारको दृष्टिकोणलाई उजागर गर्दछ । यो प्रतिबन्ध गर्दा सरकारले सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्ने कारण देखाएको थियो ।

सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकमा घृणास्पद भाषणको प्रवृत्ति बढेकाले टिकटक बन्द भएको बताएकी छिन् । चार वर्षमा टिकटकबाट भएका दुर्व्यवहारका एक हजार ६ सय ४७ वटा साइबर क्राइमका उजुरीहरू साइबर ब्यूरोमा दर्ता भइसकेका छन् । सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने गरी २०७९/८० को नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएकाे थियाे । तर, त्यो कार्यान्वयन भने भएको छैन । टिकटकको प्रतिबन्धले सामाजिक सञ्जाल प्लेटफर्महरू र इन्टरनेटको प्रयोगमा नैतिकता र सामाजिक जिम्मेवारी हुनुपर्छ भन्ने देखाउँछ । 

सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग अब जीवनको अंग बनेको छ । तसर्थ, इन्टरनेटको प्रयोगमा जिम्मेवारी र सावधानी अपनाउने कुरामा जोड दिनु आवश्यक छ । विद्यालय र समुदायहरूले डिजिटल साक्षरता र सामाजिक सञ्जाल प्रयोगको शिक्षा बढाउनुपर्दछ । 

इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित र सामाजिक रूपमा जिम्मेवार प्रयोग नेपाली समाजका लागि अत्यन्त महत्वपूर्ण छ ।


Author

थप समाचार
x