सुझाव संकलनपछि मात्रै भूकम्प पुनःनिर्माणको ढाँचा तय हुने
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव संकलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पार्ने बताएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले स्थलगत अध्ययन र सुझावका आधारमा पुनःनिर्माण अघि बढाइने र त्यसका लागि अहिले स्थलगत अनुगमन तथा सुझाव संकलन थालिएको बताए । उनकै नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर टोलीले आजदेखि अनुगमन तथा अध्ययन गर्न लागेको हो । टोली कर्णाली प्रदेश पुगिसकेको छ । टोलीले भोलि रुकुमपश्चिम र पर्सी आइतबार जाजरकोटमा पुगेर अन्तरक्रिया गरी सुझाव लिने उनले बताए ।
'अहिले भूकम्पका लाभग्राहीको अस्थायी आवास निर्माण जारी छ, आवास निर्माण कुन गतिमा भइरहेको छ, के समस्या आइपर्यो र समाधान कसरी गर्न सकिन्छ भन्ने पहिलो विषय अध्ययनको रहेको छ”, कार्यकारी प्रमुख पोखरेलले भने, 'त्यसपछि दोस्रो चरणमा हुने पुनःनिर्माणलाई कुन ढाँचाबाट कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि सुझाव संकलन गरिने छ ।'
उनले दुवै जिल्लाका प्रभावित क्षेत्र पुगेर अन्तरक्रिया गरिसकेपछि अर्काे दिन सुर्खेतमा आएर प्रदेशस्तरीय छलफल गरी एउटा निचोडमा पुगिने पनि बताए । टोलीले पश्चिम क्षेत्रकै मुख्य नाका नेपालगञ्ज भएकाले विपद् आइपर्दा बाँकेले खेल्नुपर्ने भूमिका तथा आवश्यक विपद् व्यवस्थापन, सामग्री भण्डारणलगायतको तयारीका विषयमा पनि छलफल गरिने जानकारी दिए ।
अनुगमन तथा सुझाव संकलन टोलीमा सहभागी प्राधिकरणका निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले मुख्य गरी फिल्डमा कस्ता काम भइरहेका छन् र गुनासाहरू के छन् भनेर जानकारी लिनका लागि टोली खटिएको बताए ।
प्राधिकरणबाट प्राप्त विवरणअनुसार अहिलेसम्म जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघेका छन् । अहिलेसम्म २४ हजार अस्थायी आवास निर्माण सम्पन्न भइसकेको छ । ५० हजार परिवारसँग अनुदान सम्झौता भइसकेको र १० हजार घर निर्माणाधीन छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया