नामकरण विवाद
पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी
काठमाडौँ- कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं नामकरण विवाद वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भएको बताएका छन् ।
वार्ता समिति गठन बारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान र कानुनका आधारमा प्रदेशको नामकरणको विवादलाई समाधान गरिने समेत बताए । मन्त्री जबेगुले चाँडै नै समितिको बैठक बसेर आन्दोलनरत पहिचान पक्षधरहरूलाई वार्तामा बोलाउने जानकारी दिए । उनले पहिचान पक्षधरहरूद्वारा ८२ जना प्रदेश सांसदहरूलाई जिल्ला प्रवेशमा लगाइएको रोक हटाउन पहिलो एजेन्डा लिएर जाने पनि प्रष्ट पारे ।
अहिलेको कोशी प्रदेश सरकारले वार्ताबाटै समस्याको समाधान गर्ने नीति लिएको उनले बताए । उनले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुने गरी छलफल प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
माघ ६ गते बसेको कोशी प्रदेश मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेको तीन सदस्यीय नामकरण विवाद वार्ता समिति गठन गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया