जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ- नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा यही माघ ९ देखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएको छ ।
प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरणको प्रदर्शनी गरिने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो ।
प्रदर्शनीबाट सैनिकसम्बन्धी पोसाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुने छ ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्य दृश्य सामग्रीको समेत प्रदर्शनी हुने जानकारी दिइएको छ ।
आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
प्रदर्शनी अवलोकनकर्तालाई यही माघ ९ गते दिउँसो दुईदेखि पाँच बजेसम्म तथा माघ १० देखि १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया