समाज

६६० बिरामीको परीक्षण गरिसकेका नक्कली डाक्टर पक्राउ

इकागज |
माघ ८, २०८० सोमबार १४:२७ बजे

काठमाडौँ- काठमाडौँका विभिन्न पोलिक्लिनिकका बिरामीको स्वास्थ्य परीक्षण गर्ने नक्कली डाक्टरलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो ।  


सोमबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई  नियन्त्रणमा लिइएको हो । 

प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । भट्टाचार्य मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का हुन् ।  

उनले अहिलेसम्म ६६० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् । 

उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । 

उनले नक्सालस्थित 'वी केयर' मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । वी केयरमा ६६० र बसुन्धाराको धौलागिरी पोलिक्लिनकमा ३० बिरामीको स्वास्थ्य परीक्षण गर्थे । 

उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनले यस्तो काम गरेको तीन वर्ष भएको पनि बयान दिएका छन् । 

उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
 


Author

थप समाचार
x