महानगरको निर्णयविरुद्ध सटर बन्द गरेर व्यापारी सडकमा
काठमाडौँ- न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरू आन्दोलित भएका छन् । महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका हुन् ।
पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका हुन् । न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।
प्रदर्शनमा उत्रिएका व्यापारीले नेपालको ७७ वटै जिल्लाको व्यापारिक केन्द्रको मुटु रहेको न्युरोडमा महानगरले व्यवसायीसँग कुनै छलफल नै नगरी पार्किङ निषेध गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले व्यवसायीले तिरेको करले नै देश चलेको भन्दै निर्णय फिर्ता नलिए महानगरलाई कर नतिर्ने चेतावनी दिएका छन् ।
यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ भने दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरू त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया