एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
काठमाडौँ- उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नू/नगराउनू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
आदेशमा भनिएको छ, 'स्वामित्व परिर्वतनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मङ्सिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ ।'
मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया