बन्द सफल पार्न मधेशमा मसाल जुलुस
रौतहट - प्रभु साह नेतृत्वको आम जनता पार्टीले आव्हान गरेको एक दिने बन्दको पूर्व सन्ध्यामा प्रदेशभर मसाल जुलुस प्रदर्शन गरेको छ।
भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन्।
आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले जनकपुरको दुई स्थानमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको बताएका छन्।
त्यसैगरी रौतहटको सदरमुकाम गौर, चन्द्रनिगाहपुर र गरुडामा मसाल जुलुस प्रर्दशन गरिएको हो।
आमजनता पार्टीका जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पूर्व मेयर सियाराम कुशवाहा, पलत चौधरी, लालबाबु मन्सुरी, सुरेश चौधरी, अशोक चौधरी लगायत दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरूले चन्द्रनिगाहपुरमा मसाल जुलुस प्रर्दशन गरेका छन् । राजमार्गको पूर्वतर्फबाट नारा जुलुससहित आएका प्रदर्शनकारी र प्रहरीबीच चन्द्रपुर मुख्य चौकमा सामान्य झडप भएको थियो।
उता उमाशंकर साह, निवेश यादव, बिक्रम साहले गौरमा र अनिल झा, बिजय साहले गरुडामा मसाल जुलुसको नेतृत्व गरेका थिए।
मसाल जुलुस प्रदर्शनको क्रममा चन्द्रपुरमा प्रहरीसँग सामान्य झड्प भए पनि गौर र गरुडामा शान्तिपूर्ण प्रदर्शन भएको आमजनता पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साहले बताएका छन्।
उता वीरगंज, कलैया, मलंगवालगायत मधेश प्रदेशको सबै जिल्ला सदरमुकाम लगायतका स्थानमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको आमजनता पार्टीले जनाएको छ।
बैँकहरूले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुबित र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन माग गर्दै पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि माघ माग ११ गते मधेश बन्दको आव्हान गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया