समाज

मोरङमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अनुसन्धानको विषय हो : विभाग

सदर चिडियाखाना ल्याई उपचार सुरु

इकागज |
माघ १२, २०८० शुक्रबार १८:४० बजे

काठमाडौँ- मोरङको उर्लाबारी नगरपालिका चारघरेमा फेला परेको हिउँ चितुवालाई ललितपुरको सदर चिडियाखाना ल्याई उपचार सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शुक्रबार चिडियाखाना परिसरमा पत्रकार सम्मेलन गर्दै हिउँ चितुवाको उपचार भइरहेको जनाएको हो ।

हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएकाले विज्ञहरूको सुझावअनुसार उपचार भइरहेको विभागको भनाइ छ । विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले चारघरेमा फेला परेको हिउँ चितुवा उचाइलाई मध्यनजर गर्दै उपचार गर्ने उद्देश्यले समेत चिडियाखानामा ल्याइएको बताए । उनले पाटे बाघको बास स्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय भएको जानकारी दिए । हिउँ चितुवालाई तनाव नहोस भन्नका लागि खोरमा राखिएको उनले बताए ।


त्यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले अहिलेको अवस्थामा हिउँ चितुवाको उपचार नै पहिलो प्राथमिकता रहेको बताए । हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न नसक्ने भएकाले उपचारपछि केही समयमा नै टेक्न सक्ने अवस्थामा पुग्ने उनको भनाइ छ ।

त्यस्तै वन मन्त्रालयका सचिव डा दिपककुमार खरेलले हिउँ चितुवाको व्यवस्थापनका साथै तराई झर्नुको कारण पत्ता लगाउन विज्ञहरूसँग अध्ययन अनुसन्धान गरिने बताए । उनले खानाको खोजीका कारण पनि हिउँ चितुवा तल्लो क्षेत्रमा आएको हुनसक्ने उल्लेख गरे । हिउँ चितुवाको उपचारपछि हिमाली क्षेत्रमा छाड्ने वा के गर्ने भन्ने विषयमा निर्णय लिइने उनको भनाइ छ । 

समुन्द्री सतहबाट २ हजारदेखि ६ हजार मिटर उचाइमा पाइने हिउँ चितुवा मोरङको उर्लाबारीमा भेटिएको थियो । नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ वटा देशमा हिउँ चितुवा पाइने विभागले जनाएको छ । 


Author

थप समाचार
x