समाज

काठमाडौँको तापक्रम घट्दो, तराईमा ‘हाई क्लाउड’

इकागज |
माघ १४, २०८० आइतबार २१:११ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा चिसो बढ्दो क्रममा रहे पनि आज तराईले भने केही राहत महसुस गरेको छ । केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम आज त्यसभन्दा पनि तल झरेर २.१ डिग्रीमा आएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए । उनले आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि बताए ।


उनले आज तराईले भने केही राहत महसुस गरेको बताए । उच्च बादल अर्थात् पातलो बादल (हाई क्याउड) देखिएकाले तराईमा हुस्सु मात्रै रहेको तर बाक्लो कुहिरो नदेखिएकाले केही न्यानो महसुस भएको उनले जानकारी दिए । यो हाई क्लाउडले पानी भने नपार्ने उनले बताए । 'खाली यसले तराईको हुस्सुलाई घटाएर पातलो बनाएको छ, आज साँझ ६ बजेको समयमा धेरै क्षेत्रमा एक हजार मिटरमाथि भिजिबिलिटी छ,' मौसमविद् अर्यालले भने, 'जसले हिजोको भन्दा कम कुहिरो हुँदा घाम लागेर राहत मिलेको छ ।' 

मौसमविद्का अनुसार भिजिबिलिटी एक हजार भन्दा तल भएमा कुहिरो लाग्ने र त्यसभन्दा माथि भएमा हुस्सु भन्ने गरिन्छ । तराईमा भोलि पनि केही राहत मिल्ने तर जनजीवनमा भने चिसोले असर नै पार्ने भएकाले सचेत हुन आग्रह गरिएको छ । कतैकतै हुस्सु तथा कुहिरो पनि रहने बताइएको छ ।

हिजो भने तराईका अन्य क्षेत्रको ‘भिजिबिलिटी’ अलि धेरै रहे पनि नेपालगञ्ज र धनगढीमा बाक्लो थियो । त्यहाँ तीन सय मिटरसम्म झरेको पनि मौसमविद् अर्यालले बताए । 

उच्च पहाडी भेगमा केही मौसम बदली रहेको र हिमाली क्षेत्रमा हिमपात भने जारी नै रहेको छ । 

विभागले आज साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार दिउँसोको अवस्थामा पनि उस्तै रहने जनाइएको छ । रासस


Author

थप समाचार
x