समाज

रौतहटमा दाइजो नदिएको निहुँँमा एक महिलाको हत्या

इकागज |
माघ १४, २०८० आइतबार २१:४१ बजे

सांकेतिक तस्बिर

रौतहट- रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या भएको छ । बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमाबुबाले आरोप लगाएका छन् ।

सामाजिक परम्पराअनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगरपालिका-४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीया छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन् ।


भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौँमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाई लिएर छोरीलाई सधैं कुटपिट गर्दै आएका ज्वाइँ सुनिल बैठा र छोरीकी सासूले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन् ।

छोरीलाई पटक-पटक लोग्ने, सासू र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौँमा प्रहरीमा उजुरीसमेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन् ।

मृतकको १६ महिनाको छोरासमेत रहेका छन् । उनको माइती पक्षले दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुईँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुन्ड्याइएको माइती पक्षको आरोप छ । हत्यामा संलग्न रहेको भन्दै ज्वाइँ र उनका आमाबुवाविरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ । न्युजकारखाना


Author

थप समाचार
x