समाज

अन्तरजातीय विवाह गरेकी छोरीलाई घरमै गएर आमाले गरिन् कुटपिट

इकागज |
माघ १५, २०८० सोमबार २१:११ बजे

फाइल तस्बिर

काठमाडौँ- कैलालीमा अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई आमाले घरमै गएर कुटपिट गरेकी छन् ।

गोदावरी नगरपालिका-९ का सुरेश विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी २३ वर्षीया सरस्वती खड्कालाई आमाले घरमै गएर शनिबार कुटपिट गरेकी हुन् । कुटपिटबाट सरस्वती र सुरेश घाइते भएका छन् ।


गौरीगंगा नगरपालिका-७ की सरस्वती र सुरेशले २०७९ फागुन २९ गते काठमाडौँमा अन्तरजातीय विवाह गरेका थिए ।

विवाहपश्चात सरस्वतीका बुबा (पूर्व प्रहरी) र भाइले सुरेशलाई काठमाडौँस्थित गौशालाको जंगलमा लगेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका सुरेशलाई सरस्वतीका बुबाले ‘ललाइफकाइ छोरीलाई लगेको’ भन्दै गौशाला प्रहरी बुझाएका थिए ।

त्यसबेला प्रहरीले नै सुरेशलाई दुर्व्यवहार गर्नुका साथै जातीय विभेदजन्य गालीगलौज गरेको थियो ।

त्यसपश्चात डर, त्रासका बीच काठमाडौँमा बस्दै आएका सुरेश र सरस्वती १५ दिनअगाडि कैलालीस्थित घर आएका थिए ।

उनीहरू घर आएकाे थाहा पाएलगत्तै शनिबार (हिजाे) बिहान ७ बजेतिर चार/पाँच जना मानिसहरूसहित घरमा आएकी आमाले आफू र श्रीमानलाई कुटपिट गरेको सरस्वतीले जानकारी दिइन् । ‘हिजो बिहान त्यस्तै ७ बजेतिर चार/पाँच जना मान्छेसहित आउनुभएको थियो,' सरस्वतीले भनिन्, ‘अरू मान्छेले त केही बोलेनन् तर मम्मीले म र श्रीमानलाई कुटपिट गर्नुभयो ।’ कुटपिटबाट सामान्य घाइते भएको उनले बताइन् ।

आमा आएर घरमा हल्लाखल्ला गरेपछि गाउँलेहरूले इलाका प्रहरी कार्यालय मालाखेतीलाई सूचना गरेका थिए । सूचनापछि प्रहरीले घरमै आएर आमालाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेको सरस्वतीले बताइन् ।

‘मम्मीले आक्रमण गरेको एकछिनमै प्रहरी आएर उहाँलाई समात्याे,’ सरस्वतीले भनिन्, ‘धन्न प्रहरी समयमै आएर उहाँलाई समात्यो, नत्र उहाँ त हामीलाई हान्न खुकुरी खोजिरहनु भएको थियो ।’

प्रहरीले उनलाई आगामी दिनमा सुरेश र सरस्वतीलाई धम्काउने तथा आक्रमण गर्ने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएर घर पठाएको छ । न्युजकारखाना


Author

थप समाचार
x