समाज

जानकारी नदिई हिँडेका सशस्त्रका इन्स्पेक्टर थापालाई हटाइँदै

इकागज |
माघ १६, २०८० मंगलबार ९:३३ बजे

काठमाडौँ- गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई कारबाही गर्ने सूचना जारी गरेको छ । लामो समयदेखि जानकारी बिना नै बिदा बसेको सूचना जारी गर्दा पनि बेवास्ता गरेपछि मंगलबार कारबाहीको लागि अर्को सूचना जारी गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट दरबन्दी भई सशस्त्रको प्रधान कार्यालय मानवश्रोत विभागमा कार्यरत थापा २०८० मंसिर २१ गतेदेखि गैर हाजिर रहेका थिए । 


लामो समयसम्म कार्यालयमा गैर हाजिर रहेकाले सम्बन्धित कार्यालयहरूमा समेत खोजतलास र थापाको स्थायी घर ठेगानामा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को परिच्छेद ८ को दफा १०३ सँग सम्बन्धित अनुसूची ७ बमोजिम म्याद सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएको जारी सूचनामा उल्लेखमा छ ।

 सशस्त्र प्रहरी बल प्रधान कार्यालयले थापालाई सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि गृह मन्त्रालयलाई पुस २४ गते पत्र लेखेको थियो ।

प्रहरी निरीक्षक उपर सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसूरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) को (१) बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्रको प्रधान कार्यालयको च.नं. २३४६, मिति २०८०/०९/२४ को पत्रमार्फत अनुरोध भई आएको छ ।

बाटोको म्यादबाहेक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालयमा गैरहाजिर रहनुपर्ने कारणसहित सफाई पेश गर्न माघ २ गते पनि सूचना जारी गरेको थियो । त्यस सूचनाको पनि थापाले बेवास्ता गरेका थिए ।

'तथ्य, आधार, कारण तथा प्रचलित कानून बमोजिम तपाईं (सशस्त्र प्रहरी निरीक्षक, आई.डि.नं. १५७७ का सुसान्त थापा )लाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बमोजिमको कसूरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? दिनु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्यादबाहेक यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र गृह मन्त्रालयमा स्पष्टीकरण पेश गर्नू' जारी सूचनामा भनिएको छ ।


Author

थप समाचार
x