समाज

जनताको तटबन्ध : महाकालीमा मर्मत, मोहना र खुटियामा नयाँ बन्दै

इकागज |
माघ १८, २०८० बिहीबार २१:४ बजे

फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर)- डेढ दशकअघि नदीनाला नियन्त्रण तथा तटबन्ध निर्माणलगायत क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको जनताको तटबन्ध कार्यालयले यहाँका विभिन्न नदीमा तटबन्ध मर्मत तथा नयाँ निर्माणलाई तीव्र गतिमा अघि बढाएको छ ।

महेन्द्रनगरस्थित जनताको तटबन्ध फिल्ड कार्यालयले कञ्चनपुरको महाकाली नदीको तटबन्ध मर्मत एवं केही स्थानमा बस्ती जोगाउन तटबन्ध निर्माण गरिरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालयका प्रमुख श्रीप्रसाद शाहले महाकाली नदीको झोलुङ्गे पुलदेखि दक्षिण कुतियाकवरसम्मको महाकालीको तटबन्ध मर्मत र कुतियाकवरमा दुई सय मिटर तटबन्ध निर्माण भइरहेको जानकारी दिए ।


'दोधारा-चादँनी झोलुङ्गे पुलतलमा मर्मतको काम चलिरहेको छ,' प्रमुख शाहले भने, 'कुतियाकवरमा पनि दुई सय मिटर नयाँ तटबन्ध निर्माण भइरहेको छ । कुतियाकवर सीमा बस्ती जोगाउन र महाकालीको तटबन्ध मर्मतका लागि गत वर्ष रु १६ करोड ८५ लाखमा ठेक्का लगाइएको हो । त्यसैगरी तटबन्ध कार्यालयले कञ्चनपुर र कैलालीको सीमा छुट्याउने मोहना नदीमा पनि तटबन्ध निर्माण  थालिएको छ । 

मोहना र कैलालीको खुटियामा नदी नियन्त्रणका निम्ति ठेक्का दिएको करिब दुई वर्षसम्म भने निर्माण कम्पनीको लापरबाहीका कारण पाँच प्रतिशत पनि भौतिक प्रगति भएको थिएन । यहाँ मोहना र खटियाको गरी १०.२५ किलोमिटर तटबन्ध निर्माण तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको  छ ।

उक्त तटबन्ध निर्माणको काम टिम्स-राजेन्द्र-कुमार जेभीले रु ५२ करोडमा गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले रु सात करोड भुक्तानी लिएको प्रमुख शाहले बताए । 'दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने तयारी गरेपछि कम्पनीले काम द्रुत गतिमा अघि बढाएको  हो । अहिले ५० प्रतिशतभन्दा बढी काम पूरा भएको छ,' उनले भने ।


Author

थप समाचार
x