समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलाे जाेडी सम्मानित
फाइल तस्बिर
काठमाडौँ- नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोले सम्मान गरेको छ । लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिरमा विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई प्राइड रेन्बोले सम्मान गरेको हो ।
मायाको पहिचान नेपालकी अध्यक्ष माया र सचिव सुरेन्द्रको विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई कानुनी रूपमा विवाह दर्ता गर्ने बाटो खुलेको छ। ७ पुसमा कैलालीको कैलारी गाउँपालिका कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी मनिला न्यौपाने र प्रकाश चौधरीको विवाह दर्ता गरेको थियो । मनिला र प्रकाश इन्द्रेणी विवाह दर्ता गर्ने दोस्रो जोडी हुन् ।
सर्वोच्च अदालतमा विवाह दर्ताको आदेश माग्दै रिट दर्ता गर्ने मध्ये माया र सुरेन्द्रको मात्रै कानुनी रूपमा विवाह दर्ता भएको छ । रिट दर्ता गर्ने अरू ८ जोडी भने अहिले गुमनाम छन् । उनीहरू विवाह दर्ताका लागि कुनै प्रक्रियामा गएका छैनन् ।
सर्वोच्चमा मुद्दा नगर्ने जोडीका लागि समेत विवाह दर्ता गरिदिने अन्तरिम आदेश पछि देशका विभिन्न स्थानीय तहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडी विवाह दर्ताको प्रक्रियामा लागेको छन् ।
पहिलो विवाह दर्ता गरेर नेपालको नाम राख्न सफल माया र सुरेन्द्रलाई सम्मान गरिएको लायन्स क्लब अफ काठमाडौँ प्राइड रेन्बोका अध्यक्ष चन्द्र गुरुङ्गले बताए ।
प्राइड रेन्बोले प्यारालाइसिस पीडित तेस्रोलिंगी नैना राईलाई आर्थिक सहयोग पनि गरेको छ । राईलाई ११ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङ्गले बताए । सम्मान र आर्थिक सहयोग हस्तान्तरण लायन्स क्लबका फस्ट डिस्ट्रिक्ट गभर्नर, डिपार्टमेन्ट चिफ मनकुमार श्रेष्ठसहित अध्यक्ष गुरुङले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया