सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते
फाइल तस्बिर
किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराेका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो ।
मकालु-३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए ।
आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए ।
पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटरसमेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताए ।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया