व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पोखरामा पक्राउ
काठमाडौँ- व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् ।
उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए । दुवैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए ।
सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए ।
उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए ।
गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए ।
‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुवैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ थापाले भने।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया