यसरी पक्राउ परे व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुई जना
काठमाडौँ- व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् ।
उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए । दुवैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए ।
सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए । उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए ।
गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए । ‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुवैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ थापाले भने ।
थापाका अनुसार पक्राउ परेकामध्ये दर्जी विगत चार वर्ष वैदेशिक रोजगारीका लागि कतार बसेर नेपाल फर्केको एक महिना मात्रै भएको थियो । क्षेत्री भने बेरोजगार भएर बसिरहेका थिए । उनीहरूको कोठाबाट प्रहरीले तीन थान किताब, एक थान नोट बुक, विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको ८ थान पाना, भारतीय सिम १ थान, एनसेलको ३ थान, प्रिपेड सिम ५ थान बरामद भएको छ ।
यस्तै खुकुरी एक थान, गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थानलगायत सामग्री बरामद भएको छ। प्रहरी उपरीक्षक थापाका अनुसार लक्ष्मण दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडियोहरू हेर्ने गरेका थिए ।
दर्जी गैरेको बारेमा बुझ्न माघ १३ गते सच्चाईमा गएर एक दुई घन्टा बसेर उनको मोबाइल नम्बर लिएर आएका थिए । 'यसपछि १८ गतेबाट फोन तथा म्यासेजबाट धम्की दिई रकम माग गर्न थालेको खुलेको छ,’ थापाले भने ।
दुई दिनअघि धम्की दिएर दर्जी र क्षेत्री दुवै जना माघ २० गते सच्चाई केन्द्रमा गएका थिए । उनीहरूले त्यहाँ घटनाको असरको बारेमा बुझेको थापाले बताए । फेरि उनीहरू माघ २३ गते सच्चाई केन्द्रमा पुगेर आधा घन्टा बसेर फर्केका थिए ।
उनीहरूको साथबाट बरामद सामग्रीबाट विभिन्न कुराहरू खुलेका छन् । उनीहरूले ‘ठूलो धन ठूलै लक्ष्य’ नीति अपनाएको देखिन्छ । यो लक्ष्यमा उनीहरूले अपहरण, फिरौती, गोली हान्ने, फिरौती लिएको रकम संरक्षण गर्ने कुरालाई प्राथमिकतामा राखेका थिए ।
यस्तै धनी र सम्पन्न व्यक्ति, नेता, व्यापारी, गुन्डा, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया र म्यानपावर माफियाका छोराछोरीलाई टार्गेट बनाउने योजना बनाएका थिए । क्षेत्री यसअघि २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पर्वतमा मुद्दा चलेका व्यक्ति हुन् ।
यस्तै उनी २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । दुवैलाई लागूऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक थापाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया