समाज

दाजु भेट्न गएका रामबाबु २२ बर्षदेखि बेपत्ता, छोरा फर्कने बाटो हेर्दै ८५ वर्षीया आमा

इकागज |
माघ २८, २०८० आइतबार ७:५३ बजे

महोत्तरी - रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । 

आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको अझै ताजा छ ।


युद्धकालीन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीबीच भिडन्त भएको र मानिसहरू मरिरहेको सुनिन् । समाचार सकिसकेपछि रनामबाबु नजिकै आएर भने, 'आमा, म ठूलो दाजुलाई भेटन लमजुङ जान्छु ।'

रामबाबू केहीदिन अगाडिमात्र काठमाण्डौबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिबेला गाउँमा युवाहरू कोही पनी थिएनन् । भएका युवाहरू कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेका थियो । थोरै युवाहरूले मात्र आर्मी, प्रहरीमा जागिर खाएका थिए । त्यैपनी रामबाबुले जेठो दाजुलाई भेट्न बेंसीशहर जान जिद्दी गर्न थाले ।

त्यति टाढा उक्त भयावह अवस्थामा २२ बर्षीय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको त थिएन तर, छोराको जिद्दीको अगाडि दुर्गा कुमारीको केही लागेन ।

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो । प्रतिकूल वातावरणका बाबजुद पनि दाजु गोविन्द कार्कीलाई भेट्न आमाबुवासँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आएको समाचार थाहा पाएपछि प्रतीक्षामा रहेका दाजुले भाइलाई न त भेट्न पाए, न त घर फर्किएर नै गए ।

लमजुङको बेंसीशहर दाजुलाई भेट्न गएका भाइ रामबाबु २२ बर्षदेखि घर फर्किएका छैनन् । उनी कहाँ छन ?, कसरी हराए ? मरेका होलान् कि बाँचेका होलान् ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ । 

अझ ८४ बर्षीया आमा छोरा घर आउने आशा बोकेर बाँचिरहेकी छिन् । 'बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,' गहभरी आँसु बनाउँदै दुर्गा कुमारीले भनिन्, 'मरेको प्रमाणित भए बरु किरिया गर्थे ।'

रामबाबुका दुई दाजुहरू छन । माईलो दाजु मोहन कार्की नेपाल आर्मीबाट रिटायर्ड भएका छन् ने जेठा दाजु गोविन्द कार्की विद्युत प्राधिकरणबाट रिटायर्ड भए । 

दाजुहरूको जागिर कै कारणले रामबाबुलाई पढाईलेखाईमा त्यति समस्या पनि थिएन । काठमाडौँको एक क्याम्पसमा डिप्लोमा अध्ययन गर्दै गरेका रामबाबुको विषयमा परिवारले नराम्रो कहिल्यै सुनेनन् । 

दुर्गा कुमारीले वेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरुलाई हारगुहार पनि नगरेकी हैनन । तर कँहीं कत्तैबाट सुनुवाई नभएपछि छोरा फर्कने आशा आजकाल उनको झिनो बन्दै गएको छ ।

'आजकाल मोबाइलमा मान्छेहरू धमाधम भेटिएको देखिन्छ त्यही भएर मिडियामा आए,' दुर्गा कुमारीले भनिन, 'अब अन्तिम आशा तपाईंहरु नै हो ।'

कतिपय आफन्तहरू रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन् तर दुर्गा कुमारीलाई भने अहिले पनि छोरा कतै ज्यूँदै छ भन्ने लाग्छ ।​

रामबाबुका वुबा डम्बर बहादुर कार्कीलाई पनि श्रीमतिले भनेजस्तै छोरा ज्यूँदै नै छ भन्ने लाग्छ । 'कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आओस्,' उनले भने । ​

लमजुङ्गमा अझ सरकारी र विद्रोही पक्षको बेला-बेलामा झडप भैइरहन्थ्यो । जिल्लाको कतिपय ठाउँमा त त्यतिबेला कयौं मानिसहरू मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त संक्रमणकालीन अवस्थामा लमजुङ जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन । 

परिवारलाई भने पत्यार नै लाग्दैन । 'मेरो हृदयले भन्छ छोरा घर फर्केर आउँछ,' दुर्गा कुमारीले भनिन्,  'अब भरोसा बाबुहरूको नै छ, समाचार हेरेर भएपनि छोरा घर फर्कनेछ ।' 

दुर्गा कुमारी आजकाल पहिलाजसरी हिँडडुल पनि गर्न सक्दिनन् । लौरोको सहाराले यताउता हिड्ने उनीलाई मात्र हैन उनको श्रीमान डम्बर बहादुरलाई पनि लौरोको सहारा चाहिन्छ ।

भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी गरे तर, कतै पत्ता लागेन । संक्रमणकालीन अवस्थामा उनले माओवादी कमाण्डरहरुसगँ सम्पर्क गरेर भाइको यकिन गरेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाइको विषयमा कसैले यकिन बताउन सकेनन् । 

 बेपत्ता छोराको फर्किने आशामा नै दुर्गा कुमारीले अंशबण्डा पनि गरेकी छैनन । 'जेठो र माईलाले अब भाग लगाउनुपर्छ भन्छन् तर म मानेकी छैन,' उनले भनिन्, 'कमसेक एकिन त हुनुपर्यो नी मरेको र बाँचेको ।'

संक्रमणकालीन अवास्थामा बेपत्ता भएकाहरूको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ तर उक्त समयमा बेपत्ता भएकाहरूको नाम समेत सूचीकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामबाबुजस्ता बेपत्ता भएका परिवारले ३ हजार २८८ उजुरी दर्ता भएको बेपत्ता पारिएका छानबिन आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका ३ हजार २८८ उजुरी मध्ये ४१४ उजुरीहरू  सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्नेगरी पठाएकोमा १३७ उजुरीहरू फिर्ता आएको आयोगले अभिलेखमा उल्लेख छ ।

 जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लगतकट्टा गरिएको २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएकामध्ये ८ उजुरीहरूको कारबाही प्रक्रिया अगाडि बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गरिएको विवरणमा जनाएको छ ।मधेश प्रदेशको पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनको लागि १५३, प्रारम्भिक छानबिनको लागी ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लागत कट्टा गरिएको ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर सूचनाको पहुँच तथा सरोकारवालाहरुको वेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गा कुमारी लगायत सम्पूर्ण परिवारको बेपत्ता रामबाबुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

न्युज कारखाना


Author

थप समाचार
x