समाज

परासीमा ४० लाख खानेपानीको महसुल उठ्न सकेन

इकागज |
माघ २८, २०८० आइतबार ९:४२ बजे

फाइल तस्बिर

नवलपरासी - पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा  नतिर्दा सो रकम उठ्न नसकेको हो । 

समितिले  खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो । सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ । 


४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि  समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली  सार्वजनिक गर्ने चेतावनी दिएको थियो । तर १५ दिनको अवधिमा रु तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताए ।  अझै ४० लाख महसुलबापतको रकम उठ्न बाँकी छ ।

यसबीचमा समितिले वडा नं १ र २ मा तीन जना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेको समितिले जनाएको छ । तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन ।
 
समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौ वटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुई वटा खानेपानी ट्यांकीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ । 

पोखरापालीमा रहेको ट्यांकीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन् । 
रासस


Author

थप समाचार
x