पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित 'अग्र अनुहार' पुस्तक विमोचनका क्रममा विवाद
कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट नपार्न चेतावनी
काठमाडौँ- नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौँले प्रकाशन गरेको 'अग्र अनुहार' पुस्तक विमोचनका क्रममा विवाद भएको छ ।
आइतबार काठमाडौँमा गलत इतिहास कायम गरेर पुस्तक लोकार्पण गर्न खोजेको भन्दै नेपाल आदिवासी पत्रकार संघ (फोनिज) ले पुस्तक विमोचनमा अवरोध गरेको हो । पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहे पनि इतिहासलाई नामेट पार्न खोजिएकाले विरोध गरिएको फोनिजले जनाएको छ ।
पुस्तक विमोचन गर्न खोज्दा फोनिजका पदाधिकारीले नाराबाजी गर्दै पुस्तक च्यातेको थियो । फोनिजका अध्यक्ष गजुरधन राईले महासंघको इतिहासलाई बेवास्ता नगर्न पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरिएकाले शान्तिपूर्ण तवरले विरोध जनाएको बताए । पत्रकार महासंघको गौरवमय इतिहासलाई कसैले भुल्न नहुने र महासंघलाई सबैको साझा बनाउनुपर्ने उनले बताए ।
त्यस्तै फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखेर लोकार्पण गर्न लागेकाले आफूहरूले त्यसलाई रोकेको जानकारी दिए । उनले कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट नपार्न चेतावनी दिए । पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएको भन्दै फोनिजले विरोध जनाएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया