समाज

काठमाडौँ महानगरको नीतिविरुद्ध बोल्यो कवाड व्यवसायी समाज, निर्वाध व्यवसाय सञ्चालनको लागि आग्रह

इकागज |
माघ २९, २०८० सोमबार १३:४० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- कवाड व्यवसायी समाजले काठमाडौँ महानगरपालिका भित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन भन्दै वडा कार्यालयबाट पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।

हिजो (आइतबार) विज्ञप्ती जारी गर्दै अध्यक्ष रामकेवल गुप्ताले महानगरपालिकाभित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्राचार गरेको बताएका हुन् ।


‘महानगरका विभिन्न वडा कार्यालयहरूबाट कवाडी हटाउने सम्बन्धमा पत्रहरू प्राप्त भएको हुँदा यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौँ महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ,’–विज्ञप्तिमा भनिएको छ ।

आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको र कानुनबमोजिम दर्ता रही वैधानिक तवरले व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिन उन अध्यक्ष गुप्ताले अनुरोध गरेका छन्  ।

कवाडी व्यवसायीले वातावरण प्रदुषण गरेको, फोहर गरेको भन्ने कुरा सरासर गलत भएको र कवाडी व्यवसायीले बरु फोहर संकलन गरेर वातावरण सफा राख्न सहयोग गरेको कवाड व्यवसायी समाजको दाबी छ । कवाडी व्यवसाय हटाउदा लाखौं मानिसको रोजगारी गुम्ने र सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।

कवाड व्यवसायी समाजले देशमा संचालित उद्योगहरूलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत सामानको कवाडी व्यवसायीले सप्लाइ गरिरहेको दाबी गरेको छ । कवाडी व्यवसायीलाई हटाउँदा उक्त समान बाहिरबाट आयात गर्नुपर्ने भएकाले सरकारको व्यापार घाटा बढ्ने भन्दै विज्ञप्तिमार्फत सचेत गराइएको छ ।


Author

थप समाचार
x