बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ
राजविराज- बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका-१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगेर बलात्कार गरेको र रातभर राखेको २५ वर्षीया महिलाले बताएकी छिन् ।
उम्किएर भाग्न खोज्दा ज्यान मार्ने धम्की दिएका आरोपितले भोलिपल्ट भारत हिँड्न दबाब दिएको पीडितले बताइन् । आफ्नो सानो छोरा ल्याई दिने सर्त राखेपछि आरोपित बच्चा लिन महिलाको घर गएपश्चात पछि लागेर घर पुगेकी महिलाले होहल्ला गरेपछि आरोपित फरार भएका थिए । महिलाको सात वर्षीया छोरी तथा चार र साढे एक वर्षीय छोरा छन् ।
घटनापछि गाउँघरमा छलफल गरेर पञ्चेती गर्न खोजिएको स्थानीयले बताए । गाउँसमाजकै सल्लाहमा प्रहरीमा उजुरी परेको गाउँलेहरूले बताए । जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दर्ता भएको थियो ।
सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएको थियो । खोजी गर्ने क्रममा फरार आरोपित गाउँघरबाटै पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खड्काले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया