समाज

पश्चिम नवलपरासीमा ११ वर्षीय नाति र हजुरबुबा मृत फेला

इकागज |
फागुन १, २०८० मंगलबार १६:३४ बजे

नवलपरासी- पश्चिम नवलपरासीमा हजुरबुबा र नाति एकै ठाउँमा मृत अवस्थामा आज बिहान फेला परेका छन् । सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र निजका नाति वर्ष ११ का गौचरण चमार आफू बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान करिब ६ बजेको समयमा स्थानीयले नाति र हजुरबुबा दुवैलाई मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।


घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ ।

नारायणी नदीको ५ नम्बर ठोकरबाट पाँच सय मिटरको दूरीमा विगत चार/पाँच वर्षदेखि उनीहरू कच्ची छाप्रोमा बसोबास गरी खेती गर्दै आइरहेका थिए । वृद्धका छोरा, बुहारी, दुई नाति र एक नातिनी रहेकामा मृतक नातिलाई हजुरबुबासँगै छाडेर बुहारी डेढ महिनादेखि आफ्नो माइती भारत गएको बताइएको छ । मृतकका छोरा रोजगारीको सिलसिलामा अन्यत्र गएपछि बुहारी माइत गएको जनाइएको छ ।


Author

थप समाचार
x