समाज

विद्यालयहरूमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुईजना पक्राउ

इकागज |
फागुन १, २०८० मंगलबार १६:५९ बजे

काठमाडौँ- विराटनगरमा चन्दा आतंक मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरका विभिन्न विद्यालयहरूमा धम्की दिएर चन्दा असुल गर्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


उनीहरूले मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरूमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाइरहेको प्रहरीले बताएको छ । नेपाल कम्युनिट पार्टी माओवादीका महासचिव महावीरको नाममा उनीहरूले शैक्षिक संस्थाहरूमा चन्दाका लागि चिट्ठी पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले  इलाम माम्सेबुङ १ गजुरमुखी घर भई काठमाडौँको भिमसेनगोला बस्दै आएका ३८ वर्षका प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका– १ का ३० वर्षका विपिन अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए ।

यसअघि मंगलबार बिहान विराटनगर महानगरपालिका-३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ र यस घटनामा पनि उनीहरूको संलग्नता रहेको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्रीहरू ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको तार, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ । यस्तै सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम बरामद भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x