समाज

तीन लाख बढी जरिवाना तोकिएका सात जना पक्राउ

इकागज |
फागुन १, २०८० मंगलबार १९:४२ बजे

रौतहट- विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका सात जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा तीन लाख २७ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साविक रमौली गाबिस वडा ६ का रामचन्द्र बैठा, लक्षमी बैठा, रामाप्रवेश बैठा रहेका छन् । उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । 


त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन् । उनीहरूलाई सम्बन्ध विच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै गाली बेइजती मुद्दामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभातकुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती र गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

पक्राउ परेका सातैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत गौरमा मंगलबार उपस्थित गराइएको प्रहरीले जनाएको छ । रौतहट प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । यसअघि यस आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ६ महिनामा २८० फरार प्रतिवादी पक्राउ गरेको थियो ।


Author

थप समाचार
x