नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने
फाइल तस्बिर
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र जन्मिएका बालबालिकाहरूलाई पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ ।
वडा कार्यालयले गत असारमा सम्पन्न भएको नगरसभाबाट आर्थिक वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिएर ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन स्वरूप बालबालिकाहरूलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच हजार रुपैयाँ वितरण गर्न थालेको हो । वडा कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकालाई पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोलेर राखिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरी सम्बन्धित बालबालिकाको नाममा जम्मा गर्न थालिएको छ । वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्मदर्ता गर्न प्रोत्साहन गर्ने र बालबालिकाको समग्र विकासका लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।
हालसम्म वडा कार्यालयमा जन्मिएका २६ जना बालबालिकाहरूलाई सो रकम दिइ सकेको वडा कार्यालयले जनाएको छ । वडामा प्रत्येक वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै विदुर नगरपालिकाका पूर्व मेयर शिवप्रसाद गजुरेलले वडाले सराहनीय काम गरेको भन्दै यसलाई देशव्यापी बनाउनुपर्ने बताए । उनले वडाले दिएको सुविधाहरूलाई जनताहरूले पनि उपयोग गर्न जान्नुपर्ने बताए ।
वडा कार्यालयले चलाएको यो अभियानले प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने भएकोले वडा वडामा सिंहदरबार आएको महसुस भएको स्थानीयले बताएका छन् । हेर्दा सानो रकम देखिए पनि समय सान्दर्भिक र वैज्ञानिक रहेको स्थानीय राजकुमार अर्यालले बताए ।
यो कार्यक्रम सफल भएमा आगामी आर्थिक वर्ष ०८१/८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना रहेको विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया