सर्लाहीको राष्ट्रिय वनकाे बहुमूल्य जातका काठ तस्करी
सर्लाही- सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ ।
सागरनाथ वन विकास परियोजना सुरु भएको ४५ वर्ष पुगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परियोजना सुरु गरेको हो । परियोजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा करिब १३ हजार ५ सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकास समिति गठन गर्यो । २०३५ सालमा साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकास समितिअन्तर्गत सागरनाथ वन परियोजना स्थापना भएको हो ।
परियोजना क्षेत्रमा तस्करीहरूले व्यापक वन फँडानी गरेको छ । स्थानीयवासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्रप्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर साल टिकका रुख काटिएका छन् । सर्लाहीमा परियोजनामार्फत् नै संरक्षण गरिएका वनहरूमा अहिले तस्करको चहलपहल बढेको आराेप छ । वन कर्मचारीसँगको सेटिङमा सागरनाथ वनमा तस्करले गतिविधि बढेको स्थानीय नागेश्वर महताले बताए । वन फडानीका गतिविधि बढ्दा पनि परियोजना निमित्त कार्यालय प्रमुख चौधरी मौन समर्थन जनाइरहेको स्थानीय बताउँछन् ।
सागरनाथ वन विकास परियोजनाको सागरनाथ, हातीलेद, मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा दिनहुँ तस्करहरूले वन फँडानी गरेको पाइएको छ । हातीलेद वन कार्यालयको क्षेत्रमा पर्ने महोत्तरिको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् । सागरनाथ वन विकास परियोजना अन्तर्गतको हातीलेदका वन व्यवस्थापन शाखाका शाखा प्रमुख विधाशागर कर्णकै मिलेमतोमा बहुमूल्य जातका साल खयर टिक लगायतका काठ काटिएका छन् ।
वन विकास परियोजनामा दिउँसो र राति वन गस्तीका लागि वन हेरालु राखिएकाे छ । तर, उनीहरू वन नै नगई परियोजनामै समय बिताएका छन् । पूर्व-पश्चिम राजमार्ग नजिकै सालका रुख काटिएको छ । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिछ । तस्करहरूले वन कर्मचारीहरूसँग सेटिङ मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरेको स्थानीय रामबली पन्डितले बताएका छन ।
सागरनाथ वन विकास परियोजना निमित्त प्रमुख चौधरीसहित परियोजनाका रेन्जर र वन हेरालुहरू मौन देखिनुले उनीहरूको संग्लग्नतामा परियोजना भित्रको सागरनाथ, हातीलेद, मुर्तीया जंगलमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् । वन कर्मचारीकै सेटिङमा सर्लाहीको मुख्य बाटो भएर जिल्लाबाहिर काठ पुग्दासमेत परियोजना कर्मचारीले थाहा नपाए झैँ गर्ने गरेको छन् ।
परियोजनामा काठ तस्करी हुँदा समेत निमित्त कार्यालय प्रमुख चौधरी र हातीलेदका वन व्यवस्था शाखाका शाखा प्रमुख कर्ण मौन बस्नुले धेरै शंका उब्जाएकाे छ । परियोजनाका निमित्त प्रमुख कर्णले परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नहुँदा तलब खान नपाएको बताए ।
वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर, कानुन पालना गराउने निकाय एवं व्यक्तिहरूले खासै चासो नदिँदा तस्करहरूको मनोबल बढ्दै गइरहेको छ । न्युजकारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया