समाज

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटम पाँच हजार किलोको घण्ट

इकागज |
फागुन ५, २०८० शनिबार १५:१० बजे

ढोरपाटन- बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका- ५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो ।

विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौं धार्मिक संरचना बनिसकेका छन् ।


विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले पञ्चकोट देशव्यापी रूपमा चर्चित बनेको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजनाअनुसार उक्त महाघण्ट राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए ।

पञ्चकोटमा यही फागुन ९ गतेदेखि आयोजना हुने अनन्त श्री ब्रह्माण्डीय महायज्ञका अवसरमा महाघण्टको विधिपूर्वक स्थापना गरिने उनले बताए ।

मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको स्वामी कमलनयनाचार्य बताउँछन् । महाघण्टी बनाउन आठ वर्ष लागेको थियो ।

पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्टी राखिएको उनले बताए । महाघण्टबाट निस्किएको ध्वनि साबिक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका अधिकांश बस्तीमा सुन्न सकिने दाबी गरिएको छ ।

महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको कमलनयनाचार्यले बताए ।

उनले भने, ‘पञ्चकोटमा महाघण्ट राखिएको छ, यसमा शान्तिको ध्वनि निस्किनेछ, हामीहरुले अबको केही दिनमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आयोजना गरेका छौं । त्यस अवसरमा घण्टको विधिवत् रूपमा प्राणप्रतिष्ठाको कार्य गरिने छ । धेरै समय खर्चिएर घण्ट बनेको छ, यसलाई यहाँ बन्दै गरेको गण्डकी कलशको आडमा राखिने छ ।’

समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आठ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शिलान्यास गरेका थिए । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरलगायत ठाउँमा पुग्ने धार्मिक पर्यटक यहाँ आउन थालेपछि चहलपहल बढेको पाइन्छ ।

हालसम्म पञ्चकोटमा रु ५० करोड लगानी भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले जानकारी दिए । पर्यटक आकर्षण र धार्मिक संस्कृतिको संरक्षणका लागि थुप्रै संरचना बन्ने चरणमा छन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले पञ्चकोटमा घुइँचो बढ्न थालेको दाहालको भनाइ छ । दैनिक तीन सयदेखि चार सयसम्म पर्यटक आउने उनी बताउँछन् । बिदा तथा विभिन्न चाडपर्वका बेला करिब एक हजार दुई सय बढी पर्यटक आउने गरेको दाहालले बताए । महाघण्टले पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ । रासस


Author

थप समाचार
x