समाज

सडक निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन दबाबयात्रा

इकागज |
फागुन ५, २०८० शनिबार २०:७ बजे

फाइल तस्बिर

दमौली (तनहुँ)- शुक्लागण्डकी नगरपालिका-३ स्थित दुलेगौडा-हर्कपुर सडकखण्डको स्तरोन्नति विसं २०७८ माघ १० गतेभित्र भइसक्नुपर्ने थियो । त्यसका लागि पूर्वाधार विकास कार्यालय तनहुँले निर्माण व्यवसायीसँग विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो ।

तर निर्माण व्यवसायीको लापरबाहीका कारण उक्त सडक स्तरोन्नति करिब ३२ प्रतिशतमात्रै सकिएको छ । दुलेगौडा-हर्कपुर सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि भएको सम्झौताको म्याद पटक-पटक थप भएको छ । अन्तिमपटकका लागि विसं २०८० जेठ १४ गतेसम्म म्याद थप भएको थियो । उक्त अवधिमा पनि प्रगति भएको छैन । 


निर्माण व्यवसायीको लापरबाहीका कारण सकिसक्नुपर्ने सडकको काममा ढिलाइ हुँदा स्थानीय मर्कामा परेको शङ्कर पन्तले बताए । उनले भने, 'वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले काम गरिदिएको भए अहिलेसम्म सहज भइसक्थ्यो ।'

उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित रहेको स्थानीय हरि खड्काले बताए । 

सोही सडकको काम छिटो गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि दबाब यात्रा सुरु गरेको छ । पार्टीको केन्द्रीय निर्देशनबमोजिम देशभरका विकास आयोजनामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा आज उक्त सडकमा दबाब यात्रा गरिएको हो । 

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहेका वाग्लेले विकास निर्माणमा भइरहेको ढिलाइपछि सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गरिएको जानकारी दिए । उनले भने, 'दबाब नदिइकन काम नगर्ने प्रवृत्ति बढ्दो छ । त्यसका लागि सबैको चासो र दबाब आवश्यक छ ।' 

डा वाग्लेले सदनदेखि सडकसम्म आवाज उठाएर अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गराउन पार्टी लागिपरेको बताए । उनले भने, 'सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्या सुधार गर्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ ।' 


Author

थप समाचार
x